ऐतिहासिक मतसहित झापा-५ मा बालेनको सानदार जित, प्रियंका भन्छिन्-‘नयाँ नेपाल देख्ने आशा बलियो भयो’
काठमाडौं । नेपाली संसदीय इतिहासमा नयाँ रेकर्ड कायम गर्दै बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट झापा निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवार बनेका शाहले मुलुककै सर्वाधिक मतान्तरसहित जित हासिल गरेपछि यतिबेला देशभर उत्साहको लहर छाएको छ ।
दुईवटा सर्वाधिक रेकर्ड राखेर रास्वपाका वरिष्ठ नेता शाहले झापा–५ बाट निर्वाचित हुँदा ६८ हजार ३४८ मत पाए । प्रतिनिधिसभा निर्वाचनमा उनी यसपटक सबैभन्दा बढी मत पाउने उम्मेदवार हुन् ।
बालेनले निकटतम प्रतिस्पर्धी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरे । ओलीले १८ हजार ७३४ मत पाए ।
रास्वपाबाट भावी प्रधानमन्त्रीको बलियो दाबेदारका रूपमा हेरिएका बालेनको यो जितलाई नेपाली राजनीतिमा ‘परिवर्तनको सुनामी’ भन्दै विश्लेषण गर्न थालिएको छ । उनको विजयसँगै सामाजिक सञ्जालमा सर्वसाधारणदेखि सेलिब्रिटीसम्मले बधाई र शुभकामना दिइरहेका छन् ।
शाहको जितले चलचित्रकर्मीलाई पनि निकै उत्साहित बनाएको छ । अभिनेत्री प्रियंका कार्कीले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै बालेनको जितलाई बधाई दिँदै ‘नयाँ नेपालको प्रस्थान विन्दु’ भनेकी छन् ।
प्रियंकाले लेखेकी छन्, “अब पूरै देशको नजर तपाईँमाथि छ । हामीले आशा र विश्वासका साथ तपाईँलाई साथ दिएका छौँ । हामीले धेरै वर्षदेखि केवल मीठा भाषण र आकर्षक नाराहरू मात्र सुन्दै आएका थियौँ । तर, अब यो देशलाई कुरा गर्ने होइन, काम गरेर देखाउने नेतृत्व चाहिएको छ ।”
उनले थप उल्लेख गरेकी छन् कि नेपाली युवाहरूले अब पारदर्शिता र अवसर खोजेका छन् । बालेनको विजयले नागरिकहरूमा फेरि एकपटक राज्य संयन्त्रप्रति विश्वास जगाएको उनको ठम्याई छ । प्रियंकाले आफ्ना सन्तान र भावी पुस्ताले नेपालमै भविष्य देख्न सक्ने वातावरण बनाइदिन बालेनलाई सुझाव समेत दिएकी छन् ।
साथै, उनले लामो समयदेखिको राजनीतिक निराशालाई चित्रण गर्दै बालेनलाई ‘आशाको दियो’ को रूपमा व्याख्या गरेकी छन् । प्रियंकाले अघि लेखेकी छन्, “हामीले त आशा गर्नै छोडेका थियौँ । विश्वास पनि हराउँदै गएको थियो । तर तपाईं आउनुभयो आशाको किरण बनेर। अब फेरि सपना देख्न थालेका छौँ, नयाँ नेपालको ।”
यसअघि फागुन २१ गते मतदान गरेपछि प्रियंकाले आफूले यसपटक रास्वपाको ‘घण्टी’ चुनाव चिह्नमा मतदान गरेको खुलासा गरेकी थिइन् । सामाजिक सञ्जालमा आफ्नो निर्णय प्रस्ट्याउँदै उनले यो कुनै आवेगको निर्णय नभई देशमा परिवर्तन देख्ने तीव्र इच्छा र सम्भावनामाथिको विश्वास रहेको बताएकी थिइन् । चुनाव सकिएयता उनी रास्वपाका विजयी उम्मेदवारहरूलाई हौसला प्रदान गर्न सक्रिय देखिएकी छन् ।



