यो दशैँमा ढोक्सो थाप्दै आधा दर्जन निर्माता, सिक्वेलबीच भिडन्त हुने निश्चित
काठमाडौं । यो दशैँमा पनि सिनेमाहरूको राम्रै भिडन्त हुने देखिएको छ । एकपछि अर्को चलेका ब्यानर र चर्चित कलाकारका चलचित्र जुध्ने भएका छन् ।
दशैँमा रिलिज गर्ने भन्दै रिलिज डेट तोक्ने र यही मितिमा आउने तयारीमा रहेका चलचित्रको संख्या हेर्दा यो वर्षको दशैँमा पनि रोचक भिडन्त हुन देखिएको छ ।
त्यसो त सुरुमा दशैँमा आउने भनेर दाबी गरेका र प्रचार गरेका सबै चलचित्र आउँदैन । किनकि देशभर रहेका सिनेमा घरका स्क्रिनले एकै दिन धेरै चलचित्र रिलिज हुँदा धान्न सक्दैनन् । राम्रै चलचित्र भए पनि एकै दिन धेरै भएपछि राम्रो व्यापार हुँदैन । त्यसैले अधिकांश चलचित्र अन्तिम समयमा आएर पछि हट्नेछन् ।
अहिलेसम्म यो दशैँमा ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’, ‘झिँगेदाऊ–२’, ‘आ बाट आमा–२’ र ‘महाराजधिराज’ले रिलिज हुने पक्कापक्की गरिसकेका छन् । ‘पाँच पाण्डव’ र ‘बाटुलो जुन’ले पनि दसैँमा आउने तयारी गरिरहेको बताइएको छ ।
‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’, ‘झिँगेदाऊ २’, ‘आ बाट आमा २’ यी सबै चलचित्रका निर्माता र निर्देशकलाई अघिल्लो चलचित्रले राम्रो व्यापार गरेकाले पूर्ण आत्मविश्वास छ । त्यसैले को यही मितिमा आउने र को पछि हट्ने भन्नेमा रस्साकस्सी हुने पक्का छ ।
‘छ माया छपक्कै २’लाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् । ‘१२ गाउँ २’लाई विराज भट्टले निर्देशन गर्नेछन् । ‘झिँगेदाऊ–२’लाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन् । ‘आ बाट आमा–२’ लाई चन्द्र पन्तले निर्देशन गर्नेछन् । यी चलचित्रका अघिल्ला सिरिजले दर्शको मन जितेकाले यसपटक पनि त्यही सफलता पाउनेमा ढुक्क देखिएका छन् ।
यता, ‘बाटुलो जुन’ टिमलाई अनमोलको स्टारडमप्रति भरोसा छ । अनमोलेको यही वर्ष चलेको चलचित्र ‘जेरी अन टप’ यो वर्षकै धेरै कमाउने चलचित्रको शीर्ष सूचीमा रहेकाले त्यही सफलता फेरि फर्किनेमा निर्माण टिम ढुक्क छ ।
यता, ‘महाराजधिराज’ टिम आफ्नो कथाप्रति ढुक्क छ । लामो समय लगाएर स्क्रिप्ट तयार पारेकाले कथाले दर्शक तान्नेमा विश्वस्त छ । निर्माता र निर्देशकमा रहेको यो आत्मविश्वासको भिडन्त दशैँमा हुनेछ ।
आफ्नो चलचित्र दशैँमै आउने दाबी गरे पनि यो केहीको प्रचार रणनीति मात्रै हो भने केही बाध्य भएर अन्तिममा पछि हट्नै पर्नेछ । किनकी सातवटा चलचित्र एकै पटक न रिलिजको सम्भव छ, न व्यवाहारिक नै हुन्छ । यबाहेक विदेशी चलचित्र पनि यो समयमा आउँछन् नै । त्यसैले ढोक्सो थाप्नेहरू त पछि हट्ने निश्चित छ ।
सातवटा चलचित्र त एकसाथ प्रदर्शनमा आउन सम्भव छैन । तर, तीनवटा भने आउने सम्भावना रहन्छ । किनकी विगतका वर्षमा पनि दशैँमा तीन/तीनवटा चलचित्र आएको नजिर छ ।
गत वर्ष ‘माइती घर’, ‘हरि बहादुरको जुत्ता’ र ‘बलिदान’ एकसाथ दसैँमा आएका थिए । त्यसअघिको दशैँमा ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शन भएका थिए ।
यो दशैँमा कुन/कुन सिनेमा आउँछन्, त्यो त अहिले नै भन्न सकिने अवस्था छैन । तर, सिक्वेल वा सिरिजका मेकरमा बढी आत्मविश्वास देखिने भएकाले यो दशैँमा सिक्वेलहरूको भिडन्त हुने सम्भावना उच्च देखिन्छ ।



