सांसद बन्ने दौडमा प्रकाश सपूतलाई ‘गणित’ले धोका दिएको हो ?
काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपूतको राजनीतिक यात्रामा तत्कालका लागि पूर्णविराम लाग्ने संकेत देखिएको आशंका बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवार बनेर संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा सदयस्य (सांसद) बन्ने तयारीमा रहेका सपूतको संसदीय यात्रामा प्राविधिक कारण बाधक बन्ने धेरैको आशंका छ ।
गत १५ जनवरीमा एउटा फेसबुक पोस्ट गर्दै सपूतले लेखेका थिए– “बरु त्यसपछि आउने समय (१२ देखि २१) को यात्रा फरक भूमिका र जिम्मेवारीको यात्रा हुनसक्छ ।” उनको यो संकेत सांसद हुँदै संसद्तर्फको थियो । संगीत क्षेत्रमा लोकप्रिय रहिरहेका बेला राजनीतिमा होमिएपछि उनले ‘अवसरवादी’ भएको भन्दै चर्को आलोचना पनि खेपिरहेका छन् । तर, उनी पछि हटेनन् र रास्वपाको चुनावी अभियानमा सक्रियतापूर्वक लागे ।
रास्वपाले उनलाई समानुपातिकतर्फ ‘दलित क्लस्टर’को दोस्रो स्थानमा राखेको थियो । रास्वपाले अनपेक्षित परिणाम पनि हात पार्यो । तर, संवैधानिक व्यवस्थाले उनको यो सपना अधुरो रहने हो कि भन्ने आशंकालाई बलियो बनाएको छ ।
३३ प्रतिशतको संवैधानिक ‘बेरियर’ र सपूतको सम्भावना
नेपालको संविधानले संघीय संसदमा प्रत्येक दलबाट ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेको छ । रास्वपाको हकमा यही प्रावधान सपूतका लागि बाधक बन्न सक्ने देखिएको छ ।
रास्वपाबाट प्रत्यक्षतर्फ निर्वाचित भएका धेरै उम्मेदवारमध्ये पुरुष छन् । संसदमा ३३ प्रतिशत महिला पुर्याउन रास्वपाले अब समानुपातिक सूचीबाट ठुलो संख्यामा महिला पठाउनुपर्नेछ ।
कुल ५७ सिट (समानुपातिक) जितेको रास्वपाले महिला कोटा पुर्याउन ४८ जना महिला पठाउनै पर्छ । यस्तो अवस्थामा पुरुषका लागि मात्र ९ सिट बाँकी रहन्छ ।
सपूत दलित पुरुष क्लस्टरको दोस्रो नम्बरमा छन् । रास्वपाले सबै क्लस्टर (खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, थारु) बाट कम्तीमा एक–एक जना पुरुष समेट्दा पनि पहिलो नम्बरमा रहेकाहरूले प्राथमिकता पाउनेछन् । त्यसैले, दोस्रो नम्बरमा रहेका सपूतका लागि संसद्को ढोका यस पटकका लागि बन्द हुने सम्भावना बलियो छ । तर, सपूतका नजाने निर्णय नै भने भइसकेको छैन । रास्वपाले आइतबार समानुपातिकमा रहेकका उमेदवारको सूचीमा रहेकाको नाम सिफारिस गर्दैछ । यसका लागि रास्वपाले बिहान १० बजे पार्टीको सचिवालय बैठक बोलाएको छ । उक्त बैठकले कसकसको नाम सांसदका लागि रास्वपाले सिफारिस गर्छ, त्यसपछि मात्रै प्रकाशको यात्रा संसद् भवनतर्फ हुनेछ अथवा पुरानै बाटोतर्फ फर्किनेछ, टुंगो लाग्नेछ ।
‘माननीय’को लाइन छाडेर फेरि ‘स्टेज’ तिर !
सपूतले हालै सामाजिक सञ्जालमार्फत ३१ मार्चमा आयरल्यान्डमा आयोजना हुने ‘चैते दशैं मेला’मा प्रस्तुति दिने बताएका छन् ।
बागलुङ समाजको निमन्त्रणामा पहिलोपटक आयरल्यान्ड जान लागेका सपूतले लेखेका छन्, “बागलुङ समाजको निमन्त्रणामा यही मार्च ३१ तारिख पहिलो पटक आयरल्यान्ड आउँदैछु है! समय मिलाउँदै गर्नु! रमाइलो गरौँला! दुःख सुख साटौँला !”
यसलाई धेरैले आफू सांसद बन्ने सम्भावना क्षीण हुँदै गएपछि सपूत पुनः आफ्नो पुरानै कर्मथलो संगीतमा फर्किने तयारीमा रहेको संकेतका रुपमा बुझिरहेका छन् ।
उनी सांसद बन्ने पक्का हुन्थ्यो भने यतिबेला उनी शपथग्रहण र राजनीतिक जिम्मेवारीको तयारीमा लाग्नुपर्ने समयमा किन विदेशमा कन्सर्टको तालिका सार्वजनिक गर्थे भनेर धेरैले भनिरहेका छन् । उनले केही महिनाअघि “यो वर्षका लागि साङ्गीतिक यात्रा टुंगिएको” बताए पनि फेरि नयाँ कार्यक्रम तय गर्नुले उनी ‘ब्याक टु म्युजिक’ भएको पुष्टि गरेको धेरैको बुझाइ छ ।
तर, रास्वपाको चुनावी अभियानमा उनले पुर्याएको योगदानका कारण आगामी दिनमा उनलाई पार्टीले कुन जिम्मेवारी दिन्छ, त्यो भने हेर्न बाँकी नै छ ।



