नेपाली चलचित्रका प्रथम समीक्षक को हुन् ?

काठमाडौं । पूर्वपराष्ट्रमन्त्री रमेशनाथ पाण्डेसँग पनि नेपाली चलचित्रको एउटा रेकर्ड छ । कूटनीतिज्ञ तथा पूर्वपत्रकार समेत रहेका पाण्डेले नेपाली चलचित्र उद्योगसँग रेकर्ड जोडिएको छ ।

रमेशनाथ पाण्डे नेपाली चलचित्र क्षेत्रको पहिलो समीक्षक हुन् । उनले विसं. २०३० फागुन ७ गते प्रथम पटक प्रदर्शनमा आएको चलचित्र ‘मनको बाँध’को समीक्षा गरेका थिए ।

समीक्षाको शिर्षक ‘बाँध फुटेर ६ लाख डुबे’ रहेको थियो । पाण्डे नेपाली पत्रकारिता क्षेत्रको कान्छो सम्पादक पनि हुन् । उनी १४ वर्षको उमेरमा सम्पादक भएका थिए । उनी ‘जनता दैनिक’को सम्पादक बनेका थिए । १३ वर्षको उमेरमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका उनी त्यही वर्षबाट पत्रकारिता सुरु गरेका थिए ।

‘मनको बाँध’लाई निर्देशक प्रकाश थापाले निर्देशन गरेका थिए । यो चलचित्र शाही नेपाल चलचित्र संस्थानले स्थापनाको दुई वर्षपछि निर्माण गरेको थियो ।

यो राज्यबाट मनोरञ्जन कर छुट पाउने पहिलो नेपाली चलचित्र हो ।

‘मनको बाँध’ निर्देशक प्रकाश थापाको डेब्यु फिल्म हो । यही चलचित्रबाट बैकुण्ठमान मास्केले छायांकारको रुपमा डेब्यु गरेका थिए । उनी पहिलो नेपाली छायांकार पनि हुन् । ‘मनको बाँध’भन्दा पहिला भारतीय छायांकारले छायांकनको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

यही चलचित्रबाट स्टिल फोटोग्राफीको पनि सुरुवात भएको थियो । मञ्जुकुमार श्रेष्ठले पहिलो पल्ट स्टिल फोटोग्राफी सुरु गरेका थिए ।

‘मनको बाँध’मा उत्तम नेपालीले इन्डोर सुटिङका लागि सेट बनाएर पहिलो कला निर्देशक बनेका थिए । यही चलचित्रबाट स्पट डबिङको पनि सुरुवात भएको थियो ।