नेपाली चलचित्रको पहिलो द्वन्द्व निर्देशक को हो ?
काठमाडौं । नेपाली चलचित्र उद्योगमा रहेका थुप्रै रेकर्डहरूमध्ये गोपाल भुटानीको नाममा पनि एउटा रेकर्ड छ । उनका नाममा रेकर्ड मात्रै छैन, उनले चलचित्र उद्योगमा अतुनीय योगदान पुर्याएका छन् ।
उनी नेपाली चलचित्र उद्योगको पहिलो द्वन्द्व निर्देशक हुन् । उनले द्वन्द्व निर्देशकको रेकर्डसँगै सयौँ चलचित्रमा द्वन्द्व निर्देशकको रुपमा काम गरेका छन् । उनी ‘जीवन रेखा’मार्फत द्वन्द्व निर्देशनमा प्रवेश गरेका थिए । तर, नेपाल आउनु अघि हिन्दी सिनेमामा थिए ।
गोपाल भुटानीको वास्तविक नाम गोपाल बहादुर तामाङ हो । इलामको फिक्कलमा वि.सं. १९८४ भदौ १६ गते जन्मिएका भुटानीले मुम्बईमा पनि चलचित्रमा काम गरेका थिए । उनले ‘हकीकत’, ‘ललकार’, ‘मनका मीत’लगायत थुप्रै हिन्दी सिनेममा अभिनय, फाइट, आर्ट निर्देशनमा काम गरेका थिए । उनले ‘भुटानी’ उपनाम आफ्ना गुरूप्रति सम्मान स्वरूप राखेका हुन् । उनका गुरुको निधनपछि उनले भुटानी टाइटल राखेका थिए ।
मुम्बईमा बसे पनि उनी नेपाल आईरहन्थे । त्यही क्रममा उनले नेपालमा ‘मनको बाँध’मा काम गरेका थिए । त्यसपछि निर्देशक प्रकाश थापाले ‘जीवन रेखा’मा द्वन्द्व निर्देशकको रूपमा नेपालमा काम गर्ने अवसर दिएका थिए ।
२०३९ सालमा ‘जीवन रेखा’ चलचित्रमार्फत पहिलो पटक नेपाली सिनेमामा उनले द्वन्द्व निर्देशनको शुरूवात गरे । शिव श्रेष्ठको पनि यो पहिलो चलचित्र थियो ।
त्यो नै नेपालको पहिलो द्वन्द्व भएको चलचित्र थियो । त्यसयता उनले थुप्रै नेपाली चलचित्रमा द्वन्द्व निर्देशक, कला निर्देशक र कलाकारका रूपमा काम गरे ।
अहिलेका अधिकांश द्वन्द्व निर्देशक राजेन्द्र खड्गी उनका चेला हुन् । उनले देखाएको बाटो आज पनि उनका चेलाहरूले जीवित राखिरहेका छन् । गोपाल भुटानीलाई नेपाली चलचित्रको द्वन्द्व पितामह’का रूपमा लिइन्छ ।
०६७ मंसिर ७ गते उनको निधन भएको थियो ।




