गुपचुप आफैँ चलचित्र निर्माण गर्दै प्रियंका, केही दिनदेखि धमाधम छायांकन

काठमाडौं । अभिनेत्री प्रियंका कार्की पनि चलचित्र निर्माणमा होमिएकी छन् ।

अभिनेत्री कार्की र अभिनेता आयुष्मान देशराज जोशीको लगानी रहेको चलचित्रको १३ गतेदेखिबाट छायांकन भइरहेको छ ।

आफ्नै प्रोडक्सन हाउस ‘आयंका फिल्म्स’ को ब्यानरमा चलचित्र निर्माण सुरु भइसकेको चलचित्रको नाम रहेको छ, ‘मास्टर्नी’ ।

यस चलचित्रलाई निर्देशन गरिरहेका छन् भारतका बंगाली निर्देशक सुभेन्दु घोषले । घोष तिनै निर्देशक हुन्, जसले जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘जीतबहादुर’ निर्देशन गरेका छन् ।

केही दिन अगाडि मात्रै टिजर सार्वजनिक भएको यो चलचित्रमा प्रियंकाको पनि अभिनय रहेको छ । यही चलचित्रमा काम गरेपछि उनले आफ्नो सिनेमाको निर्देशनको जिम्मेवारी सुभेन्दुलाई सुम्पिने निर्णय गरेकी थिइन् ।

चलचित्र ‘मास्टर्नी’मा प्रियंका कार्कीसँगै आर्यन सिक्देल, गौरी मल्ल, ऋचा शर्मा, प्रमोद अग्रहरि, अनुप विक्रम शाही लगायतका कलाकारहरू मुख्य भूमिकामा रहेका छन् ।

प्राप्त जानकारी अनुसार फिल्ममा प्रियंकाको जोडी अनुपसँग बाँधिएको छ ।

यो चलचित्रबारे प्रियंकाले आधिकारिक रुपमा केही जानकारी दिएकी छैनन् । उनले गुपचुप रुपमा छायांकन सुरु गरेकी हुन् ।

तीन दिन कास्की जिल्लाको एक गाउँमा छायांकन गरेर चलचित्रको टिम काठमाडौं फर्किसकेको जनाइएको छ । अब बाँकी छायांकन काठमाडौंमा हुनेछ ।

चलचित्रको कथा कसको हो, अरु कलाकार को छन्, कहिले रिलिज हो यसबारे प्रियंकाले केही पनि जानकारी दिएकी छैनन् ।