फ्राइडे रिलिज: प्रदर्शनमा आयो प्रियंकाको ‘मास्टर्नी’

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘मास्टर्नी’ प्रदर्शनमा आएको छ । अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक निर्माण गरेको यो सिनेमा फ्राइडे रिलिजको परम्परा धान्दै आजदेखि देशभरबाट एकल प्रदर्शनमा आएको हो ।

चलचित्र आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको बुधबार ललितपुरको लबिम मलमा प्रिमियर गरिएको थियो ।

यो क्राइम थ्रिलर र मर्डर मिस्ट्री चलचित्रको कथा, प्रस्तुति र कलाकारको अभिनयको प्रशंसा प्रिमियर उपस्थित गरे थिए । कतिपयले क्राइम थ्रिलर जनरामा बनेको अहिलेसम्मकै उत्कृष्ट सिनेमाको समेत संज्ञा दिए ।

चलचित्र हेरेपछि नायिका केकी अधिकारीले आइरहेका भन्दा फरक कथामा चलचित्र बनेको बताइन । आफूलाई एकपल्ट हेरेर धित नमरेको भन्दै उनले अर्को पल्ट पनि चलचित्र हेर्ने जनाएकी छिन । यस्तै अर्की अभिनेत्री खुशी कार्की भने चलचित्रमा देखाइएको पारिवारिक कथाले आफूलाई छोएको भन्दै आँसु थाम्न सकिनन् । अभिनेत्री लुनिभा तुलाधर, शिल्पा मास्के, प्रशंसा रायमाझी, टेरिया पुर्जा मगर, सन्ध्या केसी, अभिनेता संजोग कोइराला , टिकटकर इभा गरी, सञ्चारकर्मी ओसिन सिटौलालगायतले चलचित्र आफूलाई मन परेको प्रतिक्रिया दिएका छन् ।

चलचित्रले मुख्य रूपमा एउटी आमा र छोरीबीचको प्रगाढ सम्बन्धलाई चित्रण गरेको छ । जसमा छोरीको सुरक्षाका लागि एउटी आमा कुन हदसम्म जान सक्छिन् र उनले सामना गर्नुपर्ने चुनौतीहरू के-के हुन सक्छन् भन्ने कुरालाई प्रस्तुत गरिएको छ ।

‘मास्टर्नी’मा प्रियंका आफैँ मुख्य भूमिकामा छिन् भने सिम्रन खड्का, आर्यन सिग्देल, दीपकराज गिरी, प्रमोद अग्रहरी, अनुपविक्रम शाही, ऋचा शर्मा, जितु नेपाललगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन् । सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार यसका कार्यकारी निर्माता हुन् ।

चलचित्रको कथा स्वयम् प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा लेखनमा उनलाई शान बस्नेतले साथ दिएका छन् । संवादमा पनि प्रियंका र शानकै सहकार्य छ । युवराज इन्दोरियाको छायाङ्कन र राजा सिंह सिदुको सम्पादन छ । चलचित्रको संगीत रोहित शाक्यले तयार पारेका हुन् भने त्रिशाला गुरुङको स्वर रहेको छ ।

राजेन्द्र मोक्तानको कलर र मुकेश शाहको ध्वनि मिश्रण रहेको यो चलचित्र आगामी भदौ ५ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउँदैछ । नेपालका लागि आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ ।