नेपालमा बनिसके साढे तीन हजार चलचित्र, लगानी डुबेको डुबै, आकर्षण बढेको बढ्यै
काठमाडौं । नेपाली सिनेमा उद्योगमा वार्षिक रुपमा थोरै चलचित्रले मात्रै लगानी सुरक्षित गरिरहे पनि सिनेमा निर्माणको क्रम लोभलाग्दो छ । बर्सेनि ठूलो संख्यामा चलचित्र निर्माण हुँदै आएका छन् ।
रोचक कुरा के छ भने, अहिले मात्रै होइन सिनेमा निर्माणको संख्या पहिलादेखि नै उच्च छ । राजनीतिक रूपमा खुला वातावरण सुरु भएदेखि नै हरेक वर्ष ठूलो संख्यामा चलचित्र बन्दै आएका छन् ।
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०५०/०५१ देखि २०७२/०७३ सम्म ९८६ वटा सेल्युलाइड चलचित्र बनेका छन् ।
२०६६/०६७ देखि २०८२/०८३ को फागुनको दोस्रो सातासम्म २ हजार ३६५ डिजिटल चलचित्र बनेका बोर्डको तथ्यांक छ ।
३२ वर्षमा नेपालमा ठूलो संख्यामा चलचित्र बनेका छन् । २०५१ देखि हालसम्म सेल्युलाइड र डिजिटल गरेर ३ हजार ३५१ चलचित्र निर्माण भएका छन् । यो २०५० पछिको तथ्यांक हो । यसअघि पनि नेपालमा सानै संख्यामा भए पनि चलचित्र बन्दै आएका थिए ।
चलचित्र निर्माण मंहगिदै गए पनि निर्माणको क्रम भने घटेको छैन । बर्सेनि बढ्दै गएको छ । अहिले औसतमा एउटा चलचित्र निर्माणका लागि साढे २ करोड रुपैयाँ लाग्न थालिसकेको छ । तर पनि चलचित्र निर्माणमा आकर्षण घटेको छैन ।
हरेक वर्ष ठूलो संख्यामा चलचित्रको लगानी डुबे पनि निर्माणको क्रम भने रोकिएको छैन । बर्सेनि अर्बको छेउमा चलचित्रमा लगानी भइरहेको छ ।


