चारदिने महिला चलचित्र महोत्सव : ‘कुमारी’ र ‘जीवन काँडाकी फूल’ प्रदर्शन
काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चार दिने महिला चलचित्र महोत्सव सुरु भएको छ । महिला सशक्तीकरणलाई केन्द्रमा राखेर आयोजना गरिएको यो महोत्सव २० गते समापन हुने छ ।
महोत्सवमा महिला विषयमा आधारित चलचित्र ‘कुमारी’ र ‘जीवन काँडाकी फूल’ प्रदर्शन, अन्तरक्रिया, सम्मान तथा विशेष सांस्कृतिक कार्यक्रम समावेश गरिएका छन् ।
महोत्सवअन्तर्गत पहिलो दिन महिला चलचित्रकर्मी सशक्तिकरण समितिको परिचयात्मक भिडियो प्रदर्शन, चलचित्र ‘कुमारी’का कलाकारहरूसँग अन्तरक्रिया, तथा चलचित्र कुमारी प्रदर्शन, चलचित्रबारे अनुभव आदानप्रदान तथा कुमारी चलचित्र टिमको लाइभ पोर्ट्रेट प्रस्तुति सम्पन्न भएको छ ।
कार्यक्रममा नेपालकी प्रथम नायिका भुवन चन्दको प्रमुख आतिथ्यता रहेको थियो । साथै चैत्यदेवी सिंह, प्रेम बस्न्यात, बिष्णुगोपाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। महोत्सवमा विभिन्न स्रष्टा, कलाकार, निर्देशक तथा सरोकारवालाबीच अनुभव आदानप्रदान र अन्तरक्रियाका कार्यक्रमहरू पनि समावेश गरिएको छ ।
चलचित्र विकास बोर्डले यो महोत्सवमार्फत नेपाली चलचित्र क्षेत्रमा महिलाको योगदान, संघर्ष, सिर्जना र नेतृत्वलाई थप उजागर गर्दै महिला सशक्तीकरणको सन्देश प्रवाह गर्ने उद्देश्य राखेको जनाएको छ ।
कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्र क्षेत्रमा महिलाको भूमिका केवल अभिनय वा प्रस्तुतिमा सीमित नभई सिर्जना, नेतृत्व, व्यवस्थापन र सामाजिक रूपान्तरणसम्म फैलिएको उल्लेख गरे ।
उनले महिला चलचित्रकर्मीहरूको क्षमता, योगदान र संघर्षलाई संस्थागत रूपमा सम्मान गर्दै यस्ता महोत्सवले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरे ।


