पहिलो चलचित्र सम्पादक को हुन् ?

काठमाडौं । नेपाली चलचित्र उद्योगमा रहेका थुप्रै रेकर्डमध्ये एउटा रेकर्ड तीर्थलाल श्रेष्ठका नाममा छ । उनी नेपाली चलचित्रका पहिलो सम्पादक हुन् ।

उनले सम्पादन गरेको चलचित्र ‘मनको बाँध’बाट यो रेकर्ड बनेको हो । यो समय म्यानुअल प्रविधिमा चलचित्र सम्पादन गरिन्थ्यो । चलचित्र सम्पादकलाई चलचित्रको दोस्रो निर्देशक पनि भनिन्छ ।

सम्पादनको टेबुलमा सिनेमाको फुटेज आएपछि सम्पादकको ठूलो भूमिका हुन्छ । कुशल निर्देशक पर्यो भने सिनेमाको गुणस्तर उकास्न धेरै सहयोग हुन्छ । त्यसैले सम्पादकलाई दोस्रो निर्देशक भनिएको हो ।

नेपालमै चलचित्र सम्पादनको जग श्रेष्ठले नै बसाएका हुन् । नेपालमै चलचित्र सम्पादन गर्ने आँट प्रकाश थापाले गरेका थिए । उनले निर्देशन गरेको चलचित्र ‘मनको बाँध’ले नेपालमै चलचित्र सम्पादन गरेको थियो । उनको यो डेब्यु निर्देशन थियो ।

यो चलचित्र विस २०३० साल फागुन ७ गते प्रदर्शन भएको थियो । शाही नेपाल चलचित्र संस्थानले स्थापनाको भएको दुई वर्षपछि ‘मनको बाँध’बनेको थियो ।

यो चलचित्रबाट बैकुण्ठमान मास्केले छायांकारको रुपमा डेब्यु गरेका थिए । यसअघि सम्पादन भारतमा हुन्थ्यो । छायांकार भारतबाटै ल्याइन्थ्यो ।

नेपालको पहिलो महिला चलचित्र सम्पादक भने रक्षा सिंह राणा हुन् । वि.स. २०५८ सालमा प्रदर्शनमा आएको चलचित्र ‘इज्जत’बाट उनले चलचित्र सम्पादनको काम सुरु गर्दा उनका नाममा पहिलो महिला चलचित्र सम्पादकको रेकर्ड बनेको थियो ।