‘रत्यौली’को लुक्समा जुँगा लगाएकी पूजा र हँसिला विजय
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा एउटा फरक र रोचक सहकार्यको घोषणा भएको छ । अभिनेत्री पूजा शर्माले आफ्नो नयाँ चलचित्र ‘रत्यौली’को औपचारिक घोषणा गर्दै निर्माणको तयारी सुरु गरेकी छिन् ।
यो चलचित्र नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सको संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो ।
चलचित्र ‘नाइँ नभन्नू ल ३’ बाट निर्देशनमा सुखद डेब्यू गरेका निर्देशक मुस्कान ढकाल करिब ७ वर्षपछि निर्देशनमा फर्किएका छन् । एक दर्जनभन्दा बढी फिल्ममा सहायक निर्देशकका रूपमा अनुभव बटुलेका ढकालले यसअघि चर्चित उपन्यासमा आधारित फिल्म ‘समर लभ’ निर्देशन गरेका थिए । ‘रत्यौली’ उनको तेस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ । लामो समयको ग्यापपछि उनी एउटा मौलिक कथा लिएर फर्किएका हुन् ।
सार्वजनिक गरिएको चलचित्रको पोस्टरमा नायिका पूजा शर्मा पुरुषको भेषमा देखिएकी छिन् । उनले दौरा सुरुवाल, ढाका टोपी र ओठमा जुँगा लगाएकी छिन्, जसले नेपाली विवाहको अघिल्लो रात खेलिने ‘रत्यौली’को झल्को दिन्छ ।
अर्कोतर्फ, भर्सटायल अभिनेता विजय बराल रातो स्वीटर र पाइन्टमा निकै हँसिलो मुद्रामा देखिएका छन् । पूजा र विजयले पहिलोपटक पर्दामा जोडीका रूपमा काम गर्न लागेका हुन् ।
यस चलचित्रलाई सुरज आचार्यले निर्माण गर्दैछन्, जो नेपाली फिल्म क्षेत्रमा विगत ३२ वर्षदेखि सक्रिय छन् । सयभन्दा बढी नेपाली फिल्ममा प्रोडक्सन डिजाइनरको रूपमा काम गरिसकेका आचार्यले बलिउडका ठूला प्रोजेक्टहरूमा समेत आफ्नो छाप छोडिसकेका छन् ।
उनले अमिताभ बच्चन अभिनित फिल्म ‘उचाई’, शाहिद कपुरको वेब सिरिज ‘फर्जी’, ‘मिराई’, र ‘दश का दम’ जस्ता भारतीय उत्पादनहरूमा लाइन प्रोड्यूसरको रूपमा सफल काम गरिसकेका छन् । ‘मेरो लभ स्टोरी’ र ‘कर्मयोद्धा’ मा सह-निर्माता तथा ‘वरमाला’ मा निर्माताको भूमिका निभाएका आचार्यको अनुभवले ‘रत्यौली’ लाई प्राविधिक र व्यवस्थापकीय रूपमा मजबुत बनाउने अपेक्षा गरिएको छ ।
नेपाली मौलिक संस्कृतिमा आधारित भएर बनाउन लागिएको यो चलचित्रले ग्रामीण परिवेश र रत्यौलीको रमाइलो परम्परालाई मुख्य विषयवस्तु बनाएको बुझिन्छ । पूजा शर्माको फरक गेटअप र विजय बरालको स्वभाविक अभिनयको फ्युजन हेर्न दर्शकहरू निकै उत्साहित देखिएका छन् ।
चलचित्रको छायांकनको मिति र अन्य कलाकारहरूको बारेमा भने निर्माण पक्षले विस्तारै जानकारी दिने बताएको छ ।

