बिदाको ‘ज्याकपट’ छोप्न विजय र पूजाको ‘रत्यौली’ले घोषणा गर्यो प्रदर्शन मिति
काठमाडौं । चलचित्र ‘रत्यौली’को प्रदर्शन मिति तय गरिएको छ ।
सोमबार असार १५ राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको अवसर पारेर चलचित्रको निर्माण पक्षले औपचारिक रूपमा प्रदर्शन मिति घोषणा गरेको हो ।
नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सन्सको संयुक्त ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र आगामी महाशिवरात्रिलाई लक्षित गर्दै प्रदर्शनमा आउने भएको छ । फागुन २२ गते परेको शिवरात्रिको अघिल्लो दिन अर्थात् २०८१ फागुन २१ गतेलाई चलचित्रले प्रदर्शन मिति तोकेको छ ।
व्यापारका लागि अनुकूल अवसर हेरेको ‘रत्यौली’को निर्माण पक्षले प्रदर्शन मिति तय गर्दा रणनीतिक रूपमा विदाको लामो शृङ्खलालाई लक्षित गरेको देखिन्छ । फागुन २१ गते शुक्रबार प्रदर्शन हुने यो चलचित्रले आफ्नो पहिलो सातामै विदाको ‘ज्याकपट’ पाउने निश्चित छ । शनिबार नियमित विदा र महाशिवरात्रि परेको छ । आइतबार नियमित विदा । तेस्रो दिन सोमबार नारी दिवस र चौथो दिन मङ्गलबार ग्याल्पो ल्होसार परेको छ ।
चलचित्रमा अभिनेत्री पूजा शर्मा र अभिनेता विजय बरालको मुख्य भूमिका रहनेछ । यसअघि नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको पोस्टरले दर्शकमा निकै कौतुहलता जगाएको थियो । पोस्टरमा पूजा शर्मा पुरुषको भेषमा अर्थात् दौरा–सुरुवाल, ढाका टोपी र ओठमा जुँगा लगाएको अवतारमा देखिएकी छिन्, जसले नेपाली विवाहको अघिल्लो रात खेलिने परम्परागत ‘रत्यौली’ को झल्को दिन्छ । भर्सटायल अभिनेता विजय बरालसँग पूजाले पहिलोपटक स्क्रिन सेयर गर्न लागेकी हुन्, जसलाई लिएर सिनेमा वृत्तमा चर्चा छ ।
चलचित्र ‘नाइँ नभन्नू ल ३’ बाट निर्देशनमा सुखद डेब्यू गरेका निर्देशक मुस्कान ढकाल यो सिनेमा मार्फत करिब ७ वर्षपछि निर्देशनमा फर्किएका छन् । एक दर्जनभन्दा बढी फिल्ममा सहायक निर्देशकका रूपमा अनुभव बटुलेका ढकालले यसअघि चर्चित उपन्यासमा आधारित फिल्म ‘समर लभ’ निर्देशन गरेका थिए । ‘रत्यौली’ उनको तेस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ ।
सामाजिक कथावस्तुमा तयार हुने चलचित्रको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ । सिनेमाको छायांकन आगामी भदौ महिनाबाट सुरु हुने निर्माण टिमले जानकारी दिएको छ ।
यस चलचित्रलाई सुरज आचार्यले निर्माण गर्दैछन्, जो नेपाली फिल्म क्षेत्रमा विगत ३२ वर्षदेखि सक्रिय छन् । सयभन्दा बढी नेपाली फिल्ममा प्रोडक्सन डिजाइनरको रूपमा काम गरिसकेका आचार्यले बलिउडका ठूला प्रोजेक्टहरूमा समेत आफ्नो छाप छोडिसकेका छन् ।
उनले अमिताभ बच्चन अभिनित फिल्म ‘उचाई’, शाहिद कपुरको वेब सिरिज ‘फर्जी’, ‘मिराई’, र ‘दश का दम’ जस्ता भारतीय उत्पादनहरूमा लाइन प्रोड्यूसरको रूपमा सफल काम गरिसकेका छन् । ‘मेरो लभ स्टोरी’ र ‘कर्मयोद्धा’ मा सह-निर्माता तथा ‘वरमाला’ मा निर्माताको भूमिका निभाएका आचार्यको अनुभवले ‘रत्यौली’ लाई प्राविधिक र व्यवस्थापकीय रूपमा मजबुत बनाउने अपेक्षा गरिएको छ ।


