दीपकसँग सन्तोषको ३६ को आंकडामा सुधार भएर विराजसँगको सम्बन्ध बिग्रिएको हो ?

काठमाडौं । नेपाली सिनेमा उद्योगमा दीपकराज गिरी र सन्तोष सेनको सम्बन्धमा ३६ को आंकडा रहेको सबैलाई थाहा छ । उनीहरू एकअर्काप्रति सामाजिक सञ्जालमार्फत नै कटाक्ष गर्दै आएको सबैलाई थाहै छ ।

एकले अर्कोलाई बाघ र स्यालसँग तुलना गरेको कसैबाट लुकेको छैन । सन्तोषले लामो भिडियो बनाएर दीपकको कडा आलोचना गरेका थिए । नेपाली सिनेमा उद्योगमा दीपकको केही योगदान नरहेको आरोप लगाएका थिए ।

आवश्यक पर्दा सहयोग नगरेको लगायत आरोप लगाएका थिए । त्यसपछि उनीहरूबीच चिसिएको सम्बन्ध गतवर्ष ‘माइतीघर’सम्म जोडिएको थियो । एकले अर्कोलाई सिद्याउन खोजेको भन्दै भिडियो र अडियो समेत सार्वजनिक भएको थियो ।

तर, अहिले एकाएक अवस्था फेरिएको देखिएको छ । वैशाख १ गते परेको दीपकको जन्मदिनमा सन्तोषले उनलाई तस्बिर राखेर हार्दिकतापूर्वक शुभकामना दिएका छन् ।

“नेपाली चलचित्रमा विभिन्न सफल प्रोजेक्टहरूको व्यापारबाट पहिलोपटक १०० करोडभन्दा बढी कमाइ गर्ने प्रखर अभिनेता दीपक दाइलाई विशेष दिनमा परेको जन्मदिनको हार्दिक शुभकामना । आगामी दिनहरूमा अझै ठूलो सफलता, स्वास्थ्य, दीर्घायु र निरन्तर प्रगतिको कामना,” सन्तोषले भनेका छन् ।

सन्तोषको पोस्टमा कमेन्टहरूले अब दीपकसँगको सम्बन्ध सुधार भएको हो भन्दै प्रश्न गरेका छन् । ‘बलिदान’सँगै विराज भट्टसँग सम्बन्ध सकिएको हो भनेर प्रश्न गरेका छन् ।

विराजको सिनेमा ‘राम नाम सत्य’का बारेमा किन केही नबोलेको भनेर कमेन्टमा सोधिरहेका छन् । तर, सन्तोषले विराजको अभिनय रहेको ‘राम नाम सत्य’बारे धेरै केही नबोले पनि ट्रेलर रिलिजसँगै एकाधपटक भने बोलेका छन् ।

सन्तोष अहिले रास्वपाको पक्षमा सामाजिक सञ्जालबाट पक्षपोषण गरिरहेका छन् । बालेन र सुधन गुरुङका बारेमा खुलेर प्रसंशा गरिरहेका छन् ।