किन सन्तोष सेन प्रदीपको तस्बिर सेयर गरिरहेका छन् ?
काठमाडौं । नेपाली चलचित्र उद्योगमा सन्तोष सेन र प्रदीप खड्का एकअर्काका पर्याय हुन् । किनकी प्रदीप सन्तोष सेनको चलचित्र ‘प्रेमगीत’बाट नेपाली सिनेमा उद्योगमा स्टार अभिनेताका रुपमा स्थापित भए । प्रदीप स्टारर सिनेमाबाट सन्तोष पनि पपुलर प्रोडुसरका रुपमा स्थापित भए ।
कुनै समय थियो, प्रदीप सन्तोषका सिनेमा भन्दा बाहिरका चलचित्रमा काम गर्दैन थिए । र, सन्तोष पनि प्रदीपबाहेक कलाकारलाई आफ्नो सिनेमाको हिरो बनाउँदैन थिए ।
तर, समय यस्तो आयो । यी दुई एकअर्काबाट अलगिए । नेपाली सिनेमामा आआफ्नै तरिकाले अगाडि बढे । सन्तोषले पनि आफ्नो सिनेमाको हिरो अरुलाई बनाए । प्रदीपले पनि सन्तोषको ब्यानरबाट बाहिर निस्किएर अरुको सिनेमाको नायक बने ।
सन्तोषले समीर भट्टलाई लिएर ‘बलिदान’ बनाए । प्रदीपले ‘प्रकाश’, ‘पुजार सार्की’, ‘एक्लो’, ‘एक्टर टेक वान’, ‘पिताम्बर’लगायतका सिनेमामा काम गरे ।
प्रदीप र सन्तोषबीच ३६ को आँकडा बनेको हल्ला चल्यो । हल्ला सन्तोष र प्रदीपको सम्बन्ध बिग्रिएको चले पनि उनीहरू एकले अर्कोको मुख खोलेरै आलोचना भने गरेको सुनिएन । तर, एकअर्काको चलचित्र नगरेको भने बाहिर देखिएकै कुरा हो ।
सायद, समयले परिर्वतन गरायो, अहिले सन्तोषमा केही परिवर्तन भएजस्तो देखिँदै छ । उनको फेसबुक हेर्यो भने उनी ‘प्रेमगीत’को प्रेम अथवा प्रदीपप्रति नोस्टाल्जिक भएको देखिन्छ । उनी कहिले प्रदीप रहेको पोस्टर सेयर गर्छन्, कहिले प्रदीपको क्यारेक्टर लुक्स सेयर गर्छन्, कहिले ती दिनहरूको सम्झना भन्दै प्रदीपका तस्बिरहरू सेयर गर्छन् ।
उनले जे सेयर गरे पनि, जसरी सेयर गरे पनि त्यसको सेन्ट्रलमा प्रदीप नै हुन्छन् । यसले के संकेत गर्छ भने उनले प्रदीपसँग टाढिएको सम्बन्धको दुरीलाई छोट्याइसकेका छन् । प्रदीपसँग पुनः काम गर्दैछन् भन्ने अनुमान लगाउन सकिन्छ ।
यसले के पनि संकेत गर्दैछ भने उनीहरू ‘प्रेम गीत–४’को तयारी गर्दैछन् । तर, उनले यसबारे अहिलेसम्म मुख भने खोलेका छैनन् ।
पछिल्लो समय प्रदीपका चलचित्रले पनि खासै धेरै सफलता प्राप्त गर्न नसकेको सत्य हो । सन्तोषलाई पनि अरु नायक नफापेको सत्य नै हो । त्यसैले दुवैले मनको मैले पखालेर कतै एकै ठाउँमा उभिन लागेका त हैनन् ? यदि, हो भने यो सम्भवत दुवैका लागि सही निर्णय नै होला ।
तर, कुनै पनि निर्माता र निर्देशक सधैँ एउटै कलाकारमा मात्रै डिपेन्डेन्ट हुनु र कलाकार पनि एउटै निर्देशक र निर्माताको छत्रछाँयामा बसिरहनु भने सायद उचित होइन । त्यसैले नयाँ–नयाँ टिम र व्यक्तिसँग सहकार्य गर्दै जानु र पुरानो सम्बन्ध र सहकार्यलाई पनि जोगाइरहनु नै दुवै पक्षका लागि लाभदायी हुन्छ ।

