प्रियंका कार्कीले निर्माण गरेको ‘मास्टरनी’को पहिलो झलकसँगै प्रदर्शन मिति तय

काठमाडौं । अभिनेत्री प्रियङ्का कार्की र अभिनेता आयुष्मान देशराज जोशीको निर्माण कम्पनी ‘आयंका फिल्म्स’ले आफ्नो पहिलो फिचर चलचित्र ‘मास्टरनी’को औपचारिक घोषणा भएको छ ।

निर्माण टोलीले गुपचुप रुपमा छायाकंन गरी सम्पन्न भए पश्चात् यस चलचित्रको पहिलो झलक सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरेको हो ।

भारतीय निर्देशक सुवेन्दु घोषको निर्देशनमा तयार भएको यस चलचित्रको सम्पूर्ण छायांकन कार्य सम्पन्न भइसकेको छ । निर्माण पक्षका अनुसार काठमाडौँ र पोखराका विभिन्न स्थानमा १७ दिनको अवधिमा चलचित्रको सुटिङ पुरा गरिएको हो । आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको यो पहिलो फिचर चलचित्र हो ।

‘मास्टरनी’ क्राइम थ्रिलर र मर्डर मिस्ट्री जनरामा आधारित चलचित्र हो । यस चलचित्रमा प्रियङ्का कार्की, सरोज खनाल, प्रमोद अग्रहरि, आर्यन सिग्देल, अनुप विक्रम शाही, गौरी मल्ल, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारी र दिनेश काफ्ले लगायतको अभिनय रहेको छ ।

यसका साथै निर्माण टिमले चलचित्रमा केही प्रभावशाली कलाकारहरूको ‘सप्राइज’ भूमिका रहने र त्यो दर्शकका लागि विशेष हुने दाबी गरेको छ ।

चलचित्रको अर्को विशेष पक्ष यसको लेखन हो। अभिनेत्री प्रियङ्का कार्कीकै कथा रहेको यस चलचित्रको स्क्रिप्ट सान बस्नेतले लेखेका हुन् । पटकथा र संवादमा भने प्रियङ्का र सानले संयुक्त रूपमा काम गरेका छन् ।

अभिनेत्री कार्कीले यसअघि भिडियो निर्देशन र निर्माणमा हात हालिसकेको भए पनि यो फिल्म उनको लागि लेखन र निर्माणको हिसाबले निकै महत्त्वाकाङ्क्षी मानिएको छ ।

चलचित्रमा प्रियङ्का कार्की, आयुष्मान देशराज जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माताका रूपमा रहेका छन् । त्यस्तै, चलचित्रको कार्यकारी निर्मातामा सुरक्षा सिंह मलहोत्रा छिन् ।

‘मास्टरनी’ आगामी भदौ १२ गते देखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने तय भएको छ ।