सरकारलाई निरन्तर झक्झक्याई राख

कलाकारको पृष्ठभूमि भएका व्यक्ति अहिले सरकारको नेतृत्वमा छन् । गायन हुँदै राजनीतिमा प्रवेश गरेका बालेन शाह प्रधानमन्त्री छन् । उनको नेतृत्वमा रहेको सरकारबाट देशले धेरै अपेक्षा राखेको छ ।

अहिलेको सरकारको नेतृत्वमा देशमा भ्रष्टाचारको अन्त्य, सुशासन कायम गर्दै समृद्धिको यात्रा सुरु हुने धेरैको अपेक्षा छ । पुरानो कार्यशैली र सोचबाट आक्रान्त भएका जनताले क्रान्तिकारी निर्णयसहितको मतको अभिव्यक्तिबाट वर्तमान सरकारको जन्म भएको हो ।

त्यसैले यो सरकारप्रति जनताको अपेक्षा पनि धेरै छ । समाजमा वर्षौंदेखि उपेक्षित वर्ग, क्षेत्र, समुदाय र पेसाले पनि अब प्रश्रय पाउनेमा सबै ढुक्क छन् । यस्तै एउटा क्षेत्र हो, चलचित्र । चलचित्र क्षेत्रले अब उपेक्षित हुनु पर्ने छैन भन्नेमा चलचित्रकर्मीहरू ढुक्क छन् ।

यो सरकारले चलचित्र क्षेत्रलाई यसअघिका सरकारले जस्तो उपेक्षा गर्र्दैन बरु यसलाई सफ्ट पावरको महत्व बुझेर प्राथमिकता दिन्छ भन्नेमा चलचित्रकर्मी तथा समग्र कला क्षेत्रको अपेक्षा छ ।

तर, हालसम्म सरकारले चलचित्र क्षेत्रलाई समेट्ने केही अल्पकालीन तथा दीर्घकालीन निर्णय गरेको छैन । सरकारले केही समयअगाडि सार्वजनिक गरेको १८ बुँदे राष्ट्रिय प्रतिबद्धाता पत्रमा चलचित्र तथा कलाका कुनै पनि क्षेत्र समेटिएको छैन ।

कलाकार नै सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका छन् । उनका सहयोगी कलाकार थुप्रै्र छन् । तर, हालसम्म चलचित्र अथवा कलाको कुनै विधा नसमेटिनुलाई शंका गर्न सकिने ठाउँ देखिन्छ । काम गर्न सरकारले भर्खर सुरु गरेको छ, त्यसैले अहिले नै यो क्षेत्रलाई केही गरेन भन्नु हुँदैन । यदि, यसो भनियो भने यो हतार हुनेछ ।

तर, यो सरकारले यो–यो क्षेत्रमा यसरी काम गर्छ भनेर सार्वजनिक गरिने प्रतिबद्धता पत्रमा सानो अंश पनि नसमेटिनुको अर्थ के हो भने शंका गर्न भने सकिन्छ ।

त्यसैले कलाकारहरूले बेलैदेखि यो सरकारलाई पनि निरन्तर खबरदारी गरिरहनुपर्ने देखिन्छ । होइन भने ठूलठूला विषयको छायामा फेरि पनि सिनेमा र कला क्षेत्र नपर्ला भन्न सकिन्न ।