सिनेमा उद्योगमा धमिरा लाग्यो, तत्काल रोक
नेपाली सिनेमा उद्योगमा धमिरा लाग्नेक्रम रोकिएको छैन । कहिले टिकटको किनबेचको खेल त कहिले कन्टेन्ट किनबेचको खेलले सिनेमा उद्योगलाई भित्रभित्रै खोक्रो बनाइसकेको छ ।
बाहिर हेर्दा गुलजार देखिने नेपाली सिनेमा उद्योग भित्र भने त्यस्तो छैन । निर्माता आफैँले लाखौँको टिकट खरिद् गर्नुपर्ने खेलले उराठ बनेको सिनेमा उद्योगमा अहिले अर्को खेल सुरु भइसकेको छ, त्यो हो कन्टेन्टको भ्युज किन्ने खेल ।
कति घण्टामा कति भ्युज आयो भन्ने खेलले अहिले सिनेमा उद्योगलाई थप तानव दिइरहेको छ । १२ घण्टामा यति लाख, २४ घण्टामा यति लाख, सात दिनमा यति लाख भ्युज भनेर देखाउन र सामाजिक सञ्जालमा पोस्ट गर्नकै लागि पनि अहिले सिनेमा रिलिज अगाडि आउने सिनेमाका कन्टेन्टको भ्युज किन्नुपर्ने बाध्यात्मक परिस्थिति जस्तै बनिसकेको छ ।
सिनेमा रिलिज भएपछि टिकट किन्न कम्तीमा १५ देखि २० लाख रुपैयाँ निर्माताले अनिवार्य रुपमा छुट्टयाउने पर्ने वाध्यात्मक परिस्थितिले हैरान भएका निर्माताको टाउकोमा फेरि अर्को आर्थिक भार थपिएको छ ।
टिजर, ट्रेलर र गीत रिलिज गर्दा हिट भयो भनेर देखाउन कै लागि भए पनि लाखौँ भ्युज बटुल्न बुस्ट गर्नै पर्ने भएको छ । टिजर, ट्रेलर र गीत हिट भयो अब सिनेमा पनि राम्रो होला भन्ने भ्रम दर्शकमाझ छर्न पनि निर्माताले कन्टेन्ट बुस्ट गर्ने पैसा छुट्याउनै पर्ने भएको छ ।
यसको उद्देश्य दर्शकमा भ्रम छर्ने हो । गीत, टिजर र ट्रेलर हिट भयो अब सिनेमा हेर्नुपर्छ भन्ने सोच दर्शकमा आउँछ भन्ने भ्रममा सिनेमाका लगानीकर्ता रहेका छन् । अथवा समकालीन प्रतिस्पर्धीलाई देखाउनका लागि मात्रै भए पनि भ्युज किनेर त्यसको प्रचार गर्ने खराव प्रवृत्ति मौलाएको छ ।
यो भ्रम मात्रै हो, सिनेमाको बजेट बढाउने खेल मात्रै हो । यसले सिनेमा उद्योगमा अस्वस्थ प्रतिस्पर्धा बढाउने गलत संस्कार मात्रै हो । त्यसैले यो भ्रमबाट सकेसम्म चाँडो निर्माता बाहिर आउनुपर्छ । होइन भने भित्रभित्रै खोक्रो भइसकेको सिनेमा उद्योग थप धरासायी हुँदै जानबाट कसैले रोक्न सक्दैन ।


