चलचित्र पत्रकारितालाई निर्माताको हातबाट बाहिर निकाल
नेपाली पत्रकारितामा सम्पादकीय स्वतन्त्र ता कति छ, यो आफैँमा सदावहार प्रश्न हो । कर्पोरेट हाउस, राजनीतिक दल र नेताहरूबाट कति गाइडेड छन् भन्ने प्रश्न आजदेखिको होइन । त्यसैले धेरैले नेपाली पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न उठाउँछन् । र, कति सत्य र तथ्य सूचनामा आधारित समाचार आउँछन् भन्नेमा पाठक, दर्शक र स्रोताले प्रश्न उठाउँदै आएका छन् ।
यसमा पनि चलचित्र पत्रकारिता सधैँ बदनाम छ । निर्माताको पैसामा टिकेको पत्रकारिता भनेर लाञ्छना लागेको आजबाट होइन । जुन सिनेमाको पैसा आयो, त्यो राम्रो सिनेमा जसको आएन त्यो खराब सिनेमा भनेर लेख्छन् भन्ने आरोप पुरानै हो ।
रह्यो कुरा यसमा कति सत्यता छ भन्ने । जसले चलचित्रसँग सम्बन्धित समाचार मात्रै पोस्ट गर्ने अनलाइन र युट्युब सञ्चालन गर्दै आएका छन्, उनीहरूले आफ्नो मूल्याङ्कन आफैँ गरे हुन्छ ।
पैसा पाए गुणगान, नपाएर आलोचना भइरहेको सत्य कुरा धेरैबाट लुक्न सकेको छैन । विज्ञापन आए चुपचाप, नपाए सलबलाउने र छटपटाउने धेरैले गर्दै र देख्दै आएको तीतो सत्य हो ।
निर्माताले हामीले सिनेमा नबनाए न तिम्रो पत्रकारिता पेशा रहन्छ, न तिम्रो चुलो बल्छ भन्ने आरोप हाकाहाकी लगाउँदा रातो मुख लगाएर बस्न बाध्य हुनुको कारण पनि पैसा लिएर गरिने पत्रकारिता नै हो ।
एक हातले पैसा लिने, अर्को हातले समाचार लेख्ने चलन रहेसम्म न निर्माताले हप्काउन र दबाउन छोड्नेछन् न चलचित्र पत्रकार नै बोल्न सक्छन् ।
यहाँ पहिलो दोषी पत्रकार त हुन् नै दोस्रो दोषी निर्माता पनि हुन् । विज्ञापन दिनु भनेको आफ्नो गुणगान गाउन लगाउनु हो, रचनात्मक आलोचना बन्द गराउनु हो भन्ने बुझ्नु झन् ठूलो अज्ञानी पन हो । यसले नेपाली चलचित्रलाई उँभो होइन उँधो नै लगाउने हो । आफ्ना कमजोरी लुकाउन विज्ञापन दिने र पैसा बाँड्ने मूर्खता गर्नु भनेको कमजोरी त हो नै आफ्नै पेसागत क्षमता कमजोर बनाउँदै जानु पनि हो ।
कुरा रह्यो पेसागत संस्था चलचित्र पत्रकार संघको । चलचित्र पत्रकारितालाई बलियो बनाउन भन्दै गठन भएको यो संस्थाले के गरिरहेको छ भन्ने महत्त्वपूर्ण विषय हो ।
यसको काम चलचित्र पत्रकारको क्षमता वृद्धि गर्नु हो । प्रोत्साहनका लागि काम गर्नु हो । र, सबैभन्दा महत्पूर्ण कुरा सम्पादकीय स्वतन्त्रता कायम राख्दै यसलाई बलियो बनाउनु हो ।
तर, संघका कार्यक्रमका लागि निर्मातासँगै हात हात फैल्याउनु पर्ने, पुरस्कार वितरणका लागि निर्मातासँगै पैसा माग्नुपर्ने भएपछि कसरी हुन्छ सम्पादकीय स्वतन्त्रता ? कसरी हुन्छ स्वतन्त्र पत्रकारिता ? निर्मातासँग पैसा मागेपछि नुनको सोझो गर्नुपर्ने बाध्यतामा रहने संघले कसरी स्वतन्त्र पत्रकारिताको वकालत र प्रवर्द्धन गर्न सक्छ ? कसरी आफ्ना सदस्यलाई स्वतन्त्र पत्रकारिता गर भन्न सक्छ ?
यही नै अहिलेको मुख्य समस्या हो । जबसम्म निर्माता र पत्रकारबीच निश्चित दूरी कायम रहँदैन । तबसम्म स्वतन्त्र पत्रकारिताको कल्पना गर्न सकिँदैन । पत्रकार आफैँ निर्माताको हातबाट पैसा थाप्ने, अझै उसकै हकहितका लागि गठन भएको संघले आफ्ना कार्यक्रमका लागि पैसा माग्ने अनि कसरी सम्पादकीय स्वतन्त्रताको कल्पना गर्ने ?
त्यतिबेला मात्रै चलचित्र पत्रकारिता स्वतन्त्र हुन्छ, जब चलचित्र पत्रकारिता निर्माताको पैसा बिना गर्न सम्भव हुन्छ । चलचित्र पत्रकारिता निर्माताको पैसा र चलचित्रको विज्ञापनमा निर्भर रहँदासम्म स्वतन्त्र पत्रकारिताको अभ्यास त के कल्पना पनि गर्न सम्भव छैन । जबसम्म संघ नै निर्माताको पछि लागेर आफ्नो अस्तित्व रक्षाका लागि लाग्छ, त्यो दिनसम्म चलचित्र पत्रकारितामा निष्पक्षता र स्वतन्त्रताको परिकल्पना गर्नु नै बेकार हुनेछ । दिवा सपना बाहेक केही हुने छैन ।
निर्माता र पत्रकारबीच जुन दिन प्रष्ट ग्याप देखिन्छ र चलचित्रका कन्टेन्ट मात्रै राख्ने मिडिया चलचित्रका विज्ञापनको आशा र भरोसा गर्दैनन्, त्यो दिन मात्रै चलचित्र पत्रकारिता विश्वसनीय र तथ्यमा आधारित हुन्छ ।
त्यसैले सबैभन्दा पहिला त चलचित्र पत्रकार संघले आफूलाई निर्माताबाट अलग गरेर आफैँ स्वतन्त्र हुनुपर्छ । यसका लागि आजैबाट संघले सोचोस्, होइन भने निर्माताले चलचित्र पत्रकारलाई आफ्नो पकेटको पत्रकारको व्यवहार गरिरहन्छन् । पत्रकार पनि निर्माताले जे चाहन्छ, त्यही लेखिरहन्छन् ।



