चलचित्र प्राविधिकको बक्यौता तत्काल भुक्तान गर

चलचित्र प्राविधिक संघले प्राविधिकको रकम चुक्ता गर्न निर्मातालाई समयसीमा नै दिएको छ । नौ दिनभित्र बक्यौता चुक्ता नगरे सिनेमाको काम ठप्प पार्ने संघले चेतावनी दिएको छ । र, नाम सार्वजनिक गर्ने धम्की नै दिएको छ ।

कतिपय सिनेमाको पारिश्रमिक महिनौँ तथा वर्षौंदेखि नदिइएको भन्दै त्यस्ता चलचित्र कम्पनी तथा निर्माताको चलचित्रको काम ठप्प पार्ने प्राविधिक संघको चेतावनी छ ।

यसै पनि निर्माताले प्राविधिकलाई न्यून पारिश्रमिकमा काम लगाएको तर त्यही रकम पनि महिनौँ तथा वर्षौंसम्म भुक्तानी नगरी झुलाउने गरेको संघको गुनासो छ । प्राविधिकको इमानदारिता र चलचित्रप्रतिको लगावलाई कमजोरी ठान्ने प्रवृत्ति अब सह्य नहुने संघले चेतावनी दिएको छ ।

नेपाली चलचित्र उद्योगलाई आजको व्यावसायिक उचाइमा पुर्याउन पर्दा पछाडि बसेर अहोरात्र खट्ने प्राविधिकहरू नै सिनेमा क्षेत्रका वास्तविक मेरुदण्ड भएको भन्दै संघले भनेको छ । तर, पसिनाको उचित मूल्यांकन र सम्मान हुन नसक्दा सिङ्गो प्राविधिक समुदाय मर्माहत र आक्रोशित बनेको संघले बताएको छ ।

पछिल्लो समय नेपाली चलचित्रको बजार विस्तार भएसँगै कलाकारहरूको पारिश्रमिकमा अस्वभाविक वृद्धि भइरहेको तर, सोही चलचित्रलाई आकार दिने, कलाकारभन्दा बढी समय र श्रम खर्चिने प्राविधिकहरूको पारिश्रमिक भने दशकौंदेखि यथावत् रहनु वा न्यून हुनु न्यायसङ्गत नभएको संघको गुनासो छ ।

महँगी आकाशिए पनि वर्षौंसम्म प्राविधिकको पारिश्रमिक भने स्थिर रहेको भन्दै आधारभूत जीवनयापन गर्न समेत समस्या भएको संघले बताएको छ । त्यसैले संघले प्राविधिकको श्रमको कदर गर्दै वैज्ञानिक ढङ्गले पारिश्रमिक वृद्धि र समयमै भुक्तानीको ग्यारेन्टी गरिनुपर्ने माग गरेको छ । अन्यथा आन्दोलनमा उत्रिने संघको चेतावनी छ । समयमै पारश्रमिक भुक्तानी नगरे त्यस्ता कम्पनी र निर्माताको नाम सार्वजनिक गर्ने तथा काम पनि ठप्प पार्ने संघले बताएको छ ।

चलचित्र प्राविधिकको पारिश्रमिक उचित छ कि छैन, अरु क्षेत्रका श्रमिक र प्राविधिकको तुलनामा समान वा क्षमता अनुसारको छ अथवा छैन । छैन भने कि छैन र कसरी समयानुकूल गर्दै लैजानेलगायत विषयमा निर्माता संघ र चलचित्र प्राविधिक संघ बसेर यसको समाधान निकालिनु पर्छ । तर, अरु क्षेत्रको समान छ वा क्षमता र दक्षताअनुसारको छैन भने यसलाई समयोजन गर्दै अघि बढ्नु पर्छ । तर, छ भने प्राविधिक संघले पनि अनावश्यक दुःख दिने र तर्साउने काम गर्नु हुँदैन ।

तर, जुन बक्यौताको कुरा छ, यो तत्काल भुक्तान गर्नुपर्छ । दैनिक काम गरेर चुलो बाल्ने बर्गको पैसा महिनौँ वा वर्षौं रोकिँदा गरिखाने वर्गलाई निश्चय नै ठूलो असर गर्छ । कसैले कसैलाई ठग्नु र दुःख दिनु हुँदैन । सम्झौता बमोजिमको रकम दिनेले पनि दिनुपर्छ र लिनेले पनि आफ्नो श्रमको मूल्य कानुनी लडाईं लडेर भए पनि लिनुपर्छ ।

यो विषय सहजै सुल्झिएन भने चलचित्र निर्माता संघले पनि वास्तविकता के हो बुझेर, बक्यौता भुक्तान नगर्ने निर्मातालाई बोलाएर किन र के कारण नदिएको हो भनेर सोधिखोजी गर्नुपर्छ ।

आफ्नो क्षेत्रलाई मर्यादित, पारदर्शी र इमान्दार बनाउनुपर्छ । इमान्दारिता प्रदर्शन नगर्नेलाई सचेत गराउनुपर्छ । र, पीडितलाई उसको अधिकार प्राप्तीका लागि सहयोग गर्नुपर्छ । होइन भने थिती होइन, बेथिती बस्छ ।