दश वर्षपछि निर्देशनमा निर शाह, ‘कमला मिस’को प्रदर्शन मिति घोषणा

काठमाडौं । चलचित्र ‘कमला मिस’ को प्रदर्शन मिति घोषणा गरिएको छ ।

वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण पक्षले वितरकहरूसँग छलफल गरेर रिलिज मिति तय गरेको हो ।

बिहीबार राजधानीमा निर्माण पक्ष र वितरक कम्पनीहरूबीच भएको सम्झौता अनुसार यो चलचित्र आगामी साउन २२ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तय भएको छ ।

सम्झौता भएसँगै यस चलचित्रलाई देशभर एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने भएका छन् ।

‘कमला मिस’बाट निर्देशक शाह करिब एक दशकपछि पुनः निर्देशनमा फर्किएका छन् । यसअघि उनले ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता ऐतिहासिक तथा सामाजिक विषयवस्तुका सफल चलचित्र निर्देशन गरेका थिए ।

‘कमला मिस’ मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्र हो । सिनेमामा निर्देशक निर शाह स्वयंको मुख्य भूमिका रहेको छ । उनीसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडा लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ ।

यो चलचित्र प्रसिद्ध साहित्यकार विजय मल्लको कथामा आधारित छ । विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको यस सिनेमाको कार्यकारी निर्मातामा उमेश मल्ल र चैतन्य प्रधान रहेका छन् ।

चलचित्रको पटकथा तथा संवाद निर्देशक निर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।

शिवराम श्रेष्ठको छायाङ्कन चलचित्रमा युग भुसालको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।