‘कमला मिस’ रिलिज नहुँदै नीर शाहले घोषणा गरे नयाँ सिनेमा

काठमाडौं । नेपाली चलचित्र जगतका ‘भीष्म पितामह’ मानिने वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह यतिबेला निर्देशनको मैदानमा निकै निरन्तर रूपमा देखिएका छन् ।

करिब एक दशकपछि निर्देशनमा फर्किएका शाहले एउटा चलचित्र प्रदर्शनमा नआउँदै अर्को नयाँ प्रोजेक्टको औपचारिक घोषणा गरेका छन् ।

उनको पछिल्लो निर्देशित चलचित्र ‘कमला मिस’ आगामी साउन २२ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा छ । तर, उक्त सिनेमाको नतिजा नपर्खिँदै शाहले आफ्नो नयाँ चलचित्र ‘प्रिन्स’ निर्माणको घोषणा गरेका छन् ।

निर शाहले शुक्रबार सिनेमाका लागि पहिलो गीतको रेकर्डिङसँगै चलचित्र ‘प्रिन्स’को निर्माणको औपचारिक रूपमा सुरु गरिएको घोषणा गरेका हुन् ।

रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको पहिलो गीतमा निर शाहकै शब्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत तथा शिव परियारको स्वर रहेको छ ।

चलचित्रको कथा निर शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार गरेका हुन् भने पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका छन् । चलचित्रको छायांकन सौरभ लामाले गर्नेछन् । पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरको रूपमा आबद्ध छन् ।

यद्यपि, चलचित्रको मुख्य भूमिकामा कुन-कुन कलाकारहरू रहनेछन् भन्ने विषयलाई भने अहिले गोप्य राखिएको छ । उपयुक्त समयमा कलाकार र अन्य प्राविधिक टोलीको नाम भव्य रूपमा सार्वजनिक गर्ने निर्माण टोलीले बताएको छ ।

‘प्रिन्स’ मार्फत निर शाहले नयाँ कथावस्तु र नितान्त फरक प्रस्तुति पस्कने दाबी गरिएको छ ।