प्रिमियरमा दर्शकलाई २ घण्टा ३८ मिनेटसम्म बाँधेर राख्न सफल ‘मालती मंगले’, कसले के भने ? 

काठमाडौं । यही शुक्रवारदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मालती मंगले’को ‘ग्रान्ड प्रिमियर’ सम्पन्न भएको छ ।

निर्माण टिमले बुधबार ललितपुरको लबिम मलस्थित क्युएफएक्स सिनेमाजमा एक कार्यक्रमको आयोजना गर्दै ग्रान्ड प्रिमियर गरेको हो ।

प्रिमियर शोमा उपस्थित विशिष्ट चलचित्रकर्मी र सञ्चारकर्मीहरूबाट चलचित्रले निकै उत्साहजनक र सकारात्मक प्रतिक्रिया बटुलेको छ ।

प्रिमियरमा सहभागी चलचित्रकर्मीहरूले सिनेमाको कथावस्तु र प्रस्तुतिको प्रशंसा गरेका छन् । २ घण्टा ३८ मिनेट लामो समयावधि रहेको यस चलचित्रले सुरुदेखि अन्त्यसम्म दर्शकलाई पूर्ण रूपमा एकाग्र बनाउन सफल भएको प्रतिक्रिया प्राप्त गरेको छ ।

विशेष गरी चलचित्रले उठान गरेको सामाजिक विषयवस्तु र त्यसलाई फिल्मी पर्दामा उतारिएको शैलीलाई धेरैले रुचाएका छन् । चलचित्र हेरेपछि प्रिमियरमा सहभागीहरूले कलाकारहरूको अभिनयलाई प्रमुख आकर्षणको रूपमा लिए ।

आफ्ना हरेक चलचित्रमा स्वाभाविक अभिनयका लागि चिनिने सिनेमाका प्रमुख पात्र अभिनेता विजय बरालले यस पटक पनि आफ्नो साख जोगाएका अतिथिहरुले बताएका छन् ।

अभिनेत्री वर्षा राउतको हकमा यो चलचित्र कोशेढुङ्गा सावित हुने देखिएको प्रतिक्रिया दिएका छन् । प्रिमियरपछि धेरैले यसलाई वर्षाको करियरकै हालसम्मको उत्कृष्ट अभिनय भन्दै तारिफ गरे ।

कमेडी शोहरूबाट लोकप्रियता कमाएका मेक्सम गौडेलले ठुलो पर्दामा आफूलाई एउटा सशक्त अभिनेताका रूपमा प्रमाणित गरेका छन् । उनको उपस्थितिलाई चलचित्रको एउटा बलियो पक्ष (प्लस पोइन्ट) मानिएको छ ।

प्रिमियरमा प्रमुख अतिथिका रूपमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबी लामिछानेले चलचित्रको मुक्तकण्ठले प्रशंसा गरे ।

यस चलचित्रका निर्माता तथा गायक रामकृष्ण ढकालका पुराना मित्र समेत रहेका लामिछानेले चलचित्र हेरुन्जेल आफू कतै पनि बोर नभएको बताए ।

उनले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘मैले धेरै पछाडि चलचित्र हेर्ने मौका पाएँ । यो चलचित्र निकै राम्रो छ । यसमा कमेडी पनि छ, इमोसन पनि छ । कलाकारहरूको अभिनय र संवाद उत्कृष्ट छ । निर्देशक नयाँ भए पनि यो परिपक्व काम देखिएको छ । म यो चलचित्र हेरेर हाँसे पनि र कतिपय ठाउँमा इमोसनल पनि भएँ ।‘

प्रिमियर शोमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, कृष्ण मल्ल, शर्मिला मल्ल, किरण केसी, यम बराल, सन्दीप क्षेत्री लगायतका कलाकारहरूको उपस्थिति थियो । संगीत र चलचित्र क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूले चलचित्रलाई नेपाली सिने जगत्‌को एक स्तरीय प्रस्तुति भनेका छन् ।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्र ‘मालती मंगले’को कथा स्वयं निर्देशक प्रकु पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् ।

चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायतका थुप्रै कलाकारहरूको सशक्त अभिनय रहेको छ ।

यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईं सहनिर्माताका रूपमा रहेका छन् ।

चलचित्रले प्रेम र वैवाहिक जीवनको उतारचढावलाई मुख्य विषय बनाएको छ । एउटा सुखी परिवार कसरी सामाजिक दबाब, पितृसत्तात्मक सोच र इज्जतको गलत परिभाषाका कारण विखण्डनको संघारमा पुग्छ भन्ने विषयलाई प्रस्तुत गरेको छ ।