‘मालती मङ्गले’ दोस्रो हप्तामा प्रवेश भएसँगै नयाँ गीत सार्वजनिक
काठमाडौं । चलचित्र ‘मालती मङ्गले’ प्रदर्शनको दोस्रो सातामा प्रवेश भएसँगै नयाँ गीत सार्वजनिक भएको छ ।
ग्रामीण परिवेशमा आधारित यस चलचित्रको निर्माण पक्षले शुक्रबार ‘झुटो आरोप’ बोलको नयाँ गीत सार्वजनिक गरेको हो ।
सिनेमाको कथाको गहिराइलाई झल्काउने यस गीतमा चर्चित गायक रामकृष्ण ढकालको स्वर रहेको छ । गोपाल अधिकारीको शब्द, हरि लम्सालको सङ्गीत, रिकेश गुरुङको सङ्गीत संयोजन र चन्द्र चौधरीको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
गत शुक्रवारदेखि प्रदर्शनमा आएको यस चलचित्रले पहिलो सातामा बक्स अफिसमा बलियो उपस्थिति जनाएसँगै दर्शकहरूको स्वतःस्फूर्त सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का कारण दोस्रो सातामा पनि आफ्नो साख कायम राखेको छ ।
हलबाट बाहिरिएका अधिकांश दर्शकले ‘मालती मङ्गले’लाई नेपालीपन बोकेको अब्बल सिनेमा रहेको सङ्ज्ञा दिएका छन् ।
विशेष गरी अभिनेत्री वर्षा राउतको अभिनयको सर्वत्र प्रशंसा भइरहेको छ । अभिनेताद्वय विजय बराल र मेक्सम गौडेलको प्रस्तुतिले सिनेमालाई थप रोचक बनाएको छ ।
नेपालमा उत्कृष्ट व्यापार गरिरहेको ‘मालती मङ्गले’ले मे १५ देखि उत्तर अमेरिकाका दर्शकमाझ पनि आफ्नो यात्रा सुरु गरेको छ ।
अमेरिकाका प्रमुख सहरहरू सान फ्रान्सिस्को, ड्यालस, सिकागो, क्लिभल्याण्ड, सिनसिनाटी, कोलम्बस र अस्टिन लगायतमा चलचित्र प्रदर्शनमा आएको जानकारी निर्माण पक्षले गराएको छ ।
अङ्ग्रेजी सबटाइटलसहित प्रदर्शन भइरहेको चलचित्रको अग्रिम बुकिङ निकै उत्साहजनक देखिएको छ । निर्माता रामकृष्ण ढकालका अनुसार क्यानडा प्रदर्शनका लागि ‘आँगन इभेन्ट्स’ले अधिकार खरिद गरिसकेको छ भने अन्य देशहरूमा पनि चलचित्रको अधिकार ‘सोल्ड आउट’ भइसकेको छ । ती देशहरूमा हुने प्रदर्शनको मिति छिट्टै सार्वजनिक गरिने उनले बताए ।
फिल्ममा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको पनि सशक्त भूमिका रहेको छ ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । निर्देशक पाण्डेय स्वयंको कथा रहेको चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् ।
सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन् ।
चलचित्रले प्रेम र वैवाहिक जीवनको उतारचढावलाई मुख्य विषय बनाएको छ । एउटा सुखी परिवार कसरी सामाजिक दबाब, पितृसत्तात्मक सोच र इज्जतको गलत परिभाषाका कारण विखण्डनको संघारमा पुग्छ भन्ने विषयलाई प्रस्तुत गरेको छ ।
घरेलु बजारमा सुखद व्यापार गरिरहेको यो फिल्मले अन्तर्राष्ट्रिय बजारमा पनि सोही लय समात्नेमा निर्माण टिम ढुक्क छ ।




