‘कमला मिस’को फर्स्टलुक सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा अनुभवी निर्देशक नीर शाहले नयाँ चलचित्र ‘कमला मिस’मार्फत पुनः निर्देशनमा पुनरागमन गरेका छन् ।

साउन २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता थपिएको छ ।

सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई विशेष मनोवैज्ञानिक भावभंगिमामा प्रस्तुत गरिएको छ, जसले चलचित्रको कथावस्तु गहिरो, रहस्यमय र संवेदनशील हुने संकेत गर्छ ।

निर्माण पक्षले चलचित्रको अफिसियल टिजर यही बिहीबार सार्वजनिक गर्ने जनाएको छ ।

मनोवैज्ञानिक कथामा आधारित ‘कमला मिस’मा निर्देशक नीर शाह स्वयंको अभिनयसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडा लगायत कलाकारहरूको अभिनय रहेको छ ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् । विजय मल्लको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद नीर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।

चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।