मनोवैज्ञानिक द्वन्द्व देखाउने ‘कमला मिस’को टिजर रिलिज

काठमाडौं । कलाकार तथा निर्देशक नीर शाह निर्देशित चलचित्र ‘कमला मिस’को टिजर सार्वजनिक गरिएको छ । मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्रको टिजरले दर्शकमाझ उत्सुकता बढाएको छ ।

चलचित्र ‘कमला मिस’को टिजरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई केन्द्रमा राखिएको छ ।

साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रभावित सिनेमाको टिजरले रहस्य, मनोवैज्ञानिक द्वन्द्व र भावनात्मक पक्षलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ ।

करिब एक दशकपछि निर्देशनमा फर्किएका नीर शाहले यस चलचित्रमार्फत फरक स्वादको कथा प्रस्तुत गर्ने प्रयास गरेका छन् । यसअघि उनले ‘वासुदेव’, ‘पच्चीस बसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन् ।

चलचित्रमा नीर शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रलाई विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेहा हुन् । उमेश मल्ल ,चैतन्य प्रधान ,रमेश बाबु श्रेष्ठ र राम भट्टराई ‘कमला मिस’ कार्यकारी निर्माता हुन् । चलचित्रका लाइन प्रोड्युसर पुष्कर लामा रहेका छन् ।

चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका छन् ।

चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । निर्माण व्यवस्थापन भोला सुवेदीले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सगर बोहरा हुन् ।

‘कमला मिस’ आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ । चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।