‘क्लिक कल्चर’ र ‘एल्गोरिदम’को होडबाजीले पत्रकारिताको गम्भीरता हराउँदै छ : राजेश हमाल
काठमाडौं । अभिनेता राजेश हमालले ‘क्लिक कल्चर’ र ‘एल्गोरिदम’को होडबाजीले पत्रकारिताको गम्भीरता हराउँदै गएको बताएका छन् ।
अहिलेको डिजिटल युगमा पत्रकारिताले भोगिरहेको चुनौतीप्रति हमालले गम्भीर चिन्ता व्यक्त गरे । विशेष गरी ‘क्लिक कल्चर’ र सामाजिक सञ्जालको ‘एल्गोरिदम’ले गर्दा समाचारको गुणस्तर खस्किँदै गएको हमालको ठम्याइ छ ।
“आज हामी यस्तो मोडमा छौँ जहाँ सूचनाको बाढी नै आएको छ। तर, पाठकको ध्यान आकर्षण गर्ने र भाइरल हुने होडबाजीमा कतै हामीले विषयवस्तुको गम्भीरता र सत्यतालाई त बिर्सिरहेका छैनौँ ?” हमालले प्रश्न गरे । हमालले गहन र खोजमूलक पत्रकारितामा सम्झौता गर्नुपर्ने स्थिति आउनु दुखद भएको बताए ।
वर्तमान समयमा आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोग र यसले निम्त्याउन सक्ने भ्रामक सूचनाका बारेमा पनि हमालले सचेत गराए । प्रविधिले गर्दा सत्य र असत्यबीचको रेखा मेटिँदै गएको बताउँदै उनले भने, “एआईको युगमा कुन सूचना वास्तविक हो र कुन भ्रम हो भनेर छुट्याउनै कठिन भइरहेको छ । यस्तो अवस्थामा पत्रकारहरूको जिम्मेवारी अझ बढेको छ ।”
अभिनेता हमालले पत्रकारहरूलाई प्रविधिको प्रयोग गर्दा सत्यतथ्य जाँच गर्न र पाठकलाई सही मार्गनिर्देशन गर्न आग्रह समेत गरेका छन् ।
अभिनेता हमालले नेपाली चलचित्र क्षेत्र र पत्रकारिता एकअर्काका परिपूरक रहेको बताए । चलचित्र पत्रकार संघ नेपालको २७औँ वार्षिक उत्सव तथा स्थापना दिवस, २४औँ राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै अभिनेता हमालले यी दुई क्षेत्रको सम्बन्ध गहिरो र अपरिहार्य रहेको उल्लेख गरेका हुन् ।
हमालले चलचित्रको विकासमा पत्रकारिताको र पत्रकारिताको विषयवस्तु निर्माणमा चलचित्र क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्दै उनले आफ्नो करियरको सुरुवाती दिन र तत्कालीन समाजको चलचित्रप्रतिको दृष्टिकोण स्मरण गरे ।
हमालले आफ्नो पहिलो अन्तरवार्ताको प्रसंग सुनाउँदै भने, “मैले पहिलो चलचित्र गर्दा एक स्थापित पत्रकारले मलाई सोध्नुभएको थियो– ‘काम चाहिँ के गर्नुहुन्छ ?’ अर्थात्, त्यो समयमा चलचित्रमा अभिनय गर्नुलाई काम वा पेशा मानिँदैनथ्यो । यसलाई केवल सौख पूरा गर्ने माध्यमका रूपमा मात्र हेरिन्थ्यो ।”
समयको परिवर्तनसँगै आज चलचित्र क्षेत्रले व्यवसायिक स्वरूप ग्रहण गरिसकेको र पत्रकारिता पनि उत्तिकै सुदृढ भएको अभिनेता हमालको तर्क थियो । “हिजोको त्यो ‘सौख’ आज एउटा ठूलो उद्योग र मर्यादित पेशामा रूपान्तरण भइसकेको छ, जसमा पत्रकारिताको ठूलो हात छ,” उनले भने ।




