सरकारको आलोचना गर्दै हमालले भने– सरकारको मूल्यांकन कामको परिणामका आधारमा हुन्छ

काठमाडौं । नायक राजेश हमालले बालेन सरकारको आलोचना गरेका छन् । सरकारले सय दिनको उपलब्धी सार्वजनिक गरिरहँदा राजेशले भने आलोचना गरेका हुन् ।

सरकारको मूल्यांकन उसका प्रतिबद्धता वा घोषणाहरूका आधारमा नभएर उसले लिएको दिशा र जनतासामु प्रस्तुत गरेका परिणामका आधारमा हुने उनको तर्क छ ।

“कुनै पनि सरकारको पहिलो सय दिनको मूल्यांकन केवल उसका प्रतिबद्धता वा घोषणाहरूका आधारमा होइन, उसले लिएको दिशा र जनतासामु प्रस्तुत गरेका परिणामका आधारमा हुनुपर्छ,” राजेशले फेसबुकमा लेखेका छन्, “आज नेपाली जनताले भाषणभन्दा बढी जवाफदेहिता, रोजगारी, न्याय र सुशासनको अपेक्षा गरेका छन् ।”

शक्तिशाली राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धाले प्रभावित आजको विश्वमा नेपाल सधैँ आफ्नो राष्ट्रिय हितबाट निर्देशित हुनुपर्नेमा उनको जोड छ ।

“हामी सबैसँग मित्रताको हात बढाऔँ, तर कुनै पनि शक्तिको प्रभावले हाम्रो सार्वभौमिकता र स्वतन्त्र निर्णय क्षमतालाई ओझेलमा पार्न नदिऔँ,” उनले लेखेका छन्, “हालैको युवा आन्दोलनले जनताभित्र रहेको वास्तविक असन्तुष्टि र परिवर्तनको आकांक्षालाई उजागर गरेको छ । शान्तिपूर्ण विरोध लोकतन्त्रको प्राण हो, तर हिंसा र आगजनी लोकतन्त्रको भाषा हुन सक्दैन ।”

आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्नेहरू सम्मानका पात्र भए पनि अपराध गर्ने जोसुकै भए पनि निष्पक्ष रूपमा कानुनी दायरामा ल्याइनुपर्ने उनको भनाइ छ ।

राष्ट्रको वास्तविक शक्ति संस्थाहरूलाई सबल बनाउन, विधिको शासनलाई सुदृढ गर्न र दलगत राजनीतिभन्दा माथि नेपाललाई राख्नमा निहित हुनुपर्ने उनको धारणा छ ।

“हामी विवेकशील बनौँ, एकताबद्ध रहौँ, र यस्तो नेपालको निर्माणमा समर्पित बनौँ, जहाँ विभाजनमाथि विवेकको विजय होस्, र जहाँ कुनै पनि राजनीतिक विचारधाराप्रतिको निष्ठाभन्दा नेपालप्रतिको हाम्रो प्रेम अझ महान् होस्,” उनले लेखेका छन् ।