पुस्कर लामाले पूजालाई किन प्रहरीमार्फत टर्चर दिए ? ‘महाराजधिराज’को छायांकन रोकिएपछि क्षतिपूर्ति माग

काठमाडौं । चलचित्र ‘महाराजधिराज’का निर्माताले चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कार लामासँग क्षतिपूर्ति माग गरेका छन् । लामाका कारण बिहीबार आफ्नो चलचित्र ‘महाराजधिराज’को छायांकन रोकिएको भन्दै रोकिएको दिनको क्षतिपूर्ति संघका अध्यक्ष लामाले व्यहोर्नु पर्ने निर्माता विराज विष्टले माग गरेका छन् ।

चलचित्र ‘महाराजधिराज’की मुख्य पात्र पूजा शर्मा छायांकनमा रहेका बेला पटकपटक कल गरेर उनलाई लामाले दुःख दिएका कारण बुधबार सिनेमाको छायांकन नै रोकिएको विष्टले बताएका छन् ।

“जेठ १ गते देखि छायांकन भइरहेको हाम्रो चलचित्र महाराजधिराजको मिति २०८३/०२/१३ गतेका दिन भक्तपुर जिल्लास्थित भक्तपुर दरवार स्क्वायरमा भइरहेको कुरा अवगत गर्न चाहन्छु,” निर्माता विष्टले विज्ञप्ति जारी गर्दै भनेका छन्, “बुधबारका दिन दिउँसो ठिक १ बजेर ३१ मिनेटमा छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लि.लाई कुनै पनि किसिमको आधिकारिक जानकारी नगराई नेपाल चलचित्र प्राविधिक संघ र संघका अध्यक्षको निवेदनमा काठमाडौं प्रहरी परिसरबाट यस चलचित्रको मुख्य पात्र अभिनेत्री पुजा शर्मालाई बारम्बार फोन कल गरी मानसिक यातना दिइ छायांकनमा बाधा पुर्याइ छायांकन स्थगित हुन पुग्यो ।”

आधा घण्टा भनेर पूजालाई लगे पनि दिनभरसम्म नफर्काएपछि दिनभर सिनेमा छायांकन रोकिएको उनले बताए । “हामीले साँझ ६ बजे पूजालाई आफैँ ल्याउँछौँ भने पनि आधा घण्टाका लागि भनेर लिएर गए । तर दिनभर फर्काउने काम भएन,” उनले भने, “हाम्रो महत्वपूर्ण छायांकन थियो । ६० जनाको क्राउड जम्मा गरेका थियौँ । तर, त्यो क्राउड होल्ड भयो ।”

छत्रेश्वरी म्यानेजमेन्ट प्रा. लि.लाई सम्बन्धित निकाय नेपाल चलचित्र प्राविधिक संघ र संघका अध्यक्ष पुष्कर लामाले आजको बुधबारको चलचित्रको सम्पूर्ण क्षतिपूर्ति व्यहोर्नु पर्ने माग विष्टको छ ।

“नेपाल चलचित्र निर्माता संघलाई निर्माताको यस्तो खालको समस्या, पीडा मुक्त हुने गरी हरेक तवरबाट सम्बन्धित निकाय र व्यक्तिसँग कुराकानी गरी क्षतिपूर्ति गराइदिनुहुन निवेदन पेश गर्दछु,” उनले विज्ञप्तिमा लेखेका छन्, “अरु कोही निर्माता, निर्देशक तथा कलाकारको कारणले अरु कुनै निर्मातालाई भइपरि आउने यस्ता खालका समस्याहरु आगामी दिनहरुमा नदोहोरियोस भन्नका लागि नेपाल चलचित्र निर्माता संघको ध्यानआकर्षण गराउन चाहन्छु ।”

उनले चलचित्र विकास बोर्ड, चलचित्र निर्देशक समाज, नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ र नेपाल चलचित्र प्राविधिक संघलाई बोधार्थ दिएका छन् ।

प्राविधिक संघले चलचित्र प्राविधिकको रकम नदिने निर्मातासँग ताकेता गर्दै आएको छ । सोही क्रममा संघले चलचित्र ‘रावायण’को निर्माताको हैसियतले प्राविधिकको बाँकी रकम पूजासँग भुक्तानका लागि प्रहरीमार्फत ताकेता गरेको बताइएको छ ।