लोकगायकहरू किन बन्दैछन् हिरो ?

काठमाडौं । कुनै समय थियो, जब लोकगायकहरू गाउँबेसीका भाका, मेला-महोत्सव र रेडियो नेपालका चौतारीहरूमा मात्र सीमित थिए । तर, समय फेरिएको छ । अहिलेका लोकदोहोरीका केही चर्चित गायकहरू केवल गीत गाउनेमा मात्र सीमित छैनन्, उनीहरू नेपाली चलचित्रको ‘हिरो’ बन्ने दौडमा छन् ।

पछिल्लो समयलाई हेर्ने हो भने प्रकाश सपूतबाट सुरु भएको यो ट्रेन्डमा अहिले प्रकाश दुतराज हुँदै पशुपति शर्मासम्म आइपुगेको छ ।

लोकदोहोरीमा निकै चर्चित गायकहरु पछिल्लो समय धमाधम फिल्ममा डेब्यु गर्दैछन् । आखिर किन लोकगायकहरू ठूलो पर्दाको अभिनेता बन्न लालायित छन् ? निर्माताहरू किन उनीहरूमाथि लगानी गर्न तयार छन् ?

लोकगायकबाट अभिनेता बनेर छोटो समयमै सफलताको शिखर चुम्ने नाम हो- प्रकाश सपूत । गीतसंगीतबाट लोकप्रियता कमाएका उनले ‘परदेशी २’ मार्फत अभिनय यात्रा सुरू गरेका थिए । उनको पहिलो फिल्म नै सुपरहिट भयो ।

उनले यही फिल्मबाटै आफूलाई सफल अभिनेताका रूपमा उभ्याए । त्यसपछि ‘पूर्णबहादुरको सारंगी’ जस्तो फिल्ममा प्रकाशको उपस्थितिले उनलाई फिल्म क्षेत्रमा थप स्थापित गरिदियो । प्रकाश छोटो समयमै फिल्म निर्माताहरूको रोजाइमा परिरहे ।

त्यसयता प्रकाशले ‘वसन्त’, ‘सोल्टिनी’, ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’, ‘मिरमिरे’, ‘परालको आगो’ लगायतका फिल्ममा लगातार काम गरे । उनको सफलताले के पुष्टि गरेको छ भने, यदि कलाकारमा अभिनय क्षमता छ भने दर्शकले उसलाई गायकका रूपमा मात्र होइन, अभिनेताका रूपमा पनि स्वीकार गर्छन् ।

यस्तै, ‘घर कता हो बैनीको’, ‘जाम भन्यो मायाले’ जस्ता हिट गीतका सर्जक लोकप्रिय लोकगायक गायक प्रकाश दुतराजले पनि फिल्म अभिनयमा पाइला चालिसकेका छन् ।

पछिल्लो समयका लोकप्रिय यी गायक अब अभिनेताका रूपमा चिनिने तयारीमा छन् । दुतराजले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधेर फिल्म ‘आहुती’मा अभिनय गरेका हुन् । छायांकन सम्पन्न भइसकेको यो फिल्म प्रदर्शन हुन भने बाँकी छ । त्यसैले दर्शकले उनको अभिनय क्षमता कस्तो रह्यो भन्ने मूल्यांकन गर्न केही समय पर्खिनुपर्नेछ ।

यत्तिकैमा लोकदोहोरी क्षेत्रमा सबैभन्दा धेरै फ्यान फलोइङ भएका गायक मध्येका एक हुन्- पशुपति शर्मा । वर्षौंदेखि स्टेज कार्यक्रम र म्युजिक भिडियोमा सक्रिय पशुपतिले अन्ततः फिल्ममा अभिनय गर्ने निर्णय गरेका छन् ।

रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममार्फत उनी डेब्यु डेब्यु गर्ने पक्का भएको छ, जसको सम्भावित नाम ‘तीन तिघ्रे, क्या बिग्रे’ चर्चामा छ ।

फिल्मका लेखक तथा निर्देशक अमरदीप सापकोटा हुन् भने निर्माता रघुनाथ सापकोटा रहेका छन् । निर्माण पक्षले हालसम्म फिल्मको नाम भने सार्वजनिक गरेको छैन । तर, मिडियामा आए अनुसार फिल्मको नाम ‘तीन तिघ्रे, क्या बिग्रे’रहेको बुभिएको छ ।

पशुपति शर्माले यसअघि ‘प्रेमगीत’ र ‘ब्रासलेट’ जस्ता फिल्मका लागि गीत गाइसकेका छन् । तर कलाकारका रूपमा भने यो उनको पहिलो अनुभव हुनेछ ।

लोकसंगीतमा लोकप्रियता कमाएका यी कलाकारहरू ठूलो पर्दामा कति सफल हुन्छन् भन्ने चासो स्वाभाविक छ । उनीहरूका युट्युब भ्युज र सामाजिक सञ्जालको फलोइङलाई निर्माताहरूले ‘बक्स अफिस’ कलेक्सनको ग्यारेन्टीका रूपमा हेर्ने गर्छन् । लोकगायकहरूको गाउँदेखि सहरसम्म र विदेशमा रहेका नेपालीहरूमाझ बलियो पकड हुन्छ । पछिल्लो समय नेपाली फिल्ममा ग्रामीण परिवेशको कथा खोज्ने ट्रेन्ड बढेको छ ।

लोकगायकहरू आफैँ त्यही परिवेशबाट आएका हुनाले उनीहरूको हाउभाउ र लवज फिल्मका लागि ‘अर्गानिक’ हुन्छ । अहिलेका म्युजिक भिडियोहरू आफैँमा लघु-चलचित्र जस्तै हुन्छन् । धेरै गायकहरूले आफ्नै भिडियोमा अभिनय गरिसकेका हुनाले उनीहरूलाई क्यामेराको अगाडि उभिन र चरित्रमा भिज्न सहज हुन्छ । चर्चित गायक हिरो भएपछि फिल्मको गीत-संगीत आफैँ चर्चामा आउँछ, जसले फिल्मको पब्लिसिटीमा ठूलो मद्दत पुग्छ ।

प्रकाश सपूत त सुरुआती फिल्महरूबाटै निकै भाग्यमानी साबित भए । उनले लगातार थुप्रै फिल्ममा काम पनि गरे । तर, पर्दामा देखिनु मात्र सफलता होइन । गायकका रूपमा पाएको मायालाई अभिनेताका रूपमा टिकाउनु यी कलाकारहरूका लागि मुख्य चुनौती हो ।

प्रकाश सपूतले बाटो देखाइसकेका छन्, अब प्रश्न छ– प्रकाश दुतराज र पशुपति शर्माका लागि ठूलो पर्दाको यो यात्रा कस्तो रहला ? के उनीहरूले व्यावसायिक कलाकारहरूलाई टक्कर दिन सक्लान् ? के प्रकाश दुतराजले फिल्ममा कत्तिको सफलता पाउलान् ? अनि पशुपति शर्माको फिल्मी यात्रा कस्तो होला ? यी प्रश्नहरूको जवाफ समयले दिनेछ ।

जे होस्, लोकगायकहरूको यो फिल्मी मोहले नेपाली चलचित्र क्षेत्रमा नयाँ उत्साह र प्रतिस्पर्धा भने पक्कै थपेको छ ।