‘१२ गाउँ २’ बाहेक अरु सिनेमा किन चुपचाप ?
काठमाडौं । यो वर्ष पनि दशैँमा रिलिज हुने सिनेमाको संख्या सानो छैन । ब्रान्ड बनाइसकेका सिनेमाका ब्यानर र कलाकारसम्मका सिनेमा दशैँमा प्रदर्शनको तयारीमा छन् ।
तर, अहिले सिनमा देखिरहेको सिनेमा चाहिँ ‘१२ गाउँ २’ मात्रै छ । सिनमा ‘१२ गाउँ २’ मात्रै भए पनि दशैँमा चलचित्र ‘बाटुलो जुन’, ‘डबल ट्रिपल’, ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘कबड्डी ५’ छन् ।
आधा दर्जन सिनेमाका निर्माताले मेरो चलचित्र दशैँमा आउँदैछ भनेर भने पनि ‘१२ गाउँ २’ले मात्रै हालसम्म प्रचार सुरु गरेको छ । अरु सिनेमा लगबग शून्य प्रचारकै अवस्थामा छन् । ‘आ बाट आमा २’ एउटा पोस्टर बजारमा पठाएको छ । अरुले चहलपहल गर्न सुरु गरेकै छैनन् ।
दशैँ आइसक्यो, सिनेमाको प्रचारका लागि अब समय सुरु भइसक्यो । तर, निर्माताहरू ढुक्कले बसेका छन् । दशैँमा सिनेमा धेरै नै आउँछन् भन्ने त दर्शकलाई अनुमान हुन्छ । तर, कुन आउँछ भनेर चाहिँ थाहा दिनु नै पर्छ ।
मेरो सिनेमाको विषय यो हो, मेरो सिनेमा यो कारणले हेर्नयोग्य छ भनेर दर्शकको दिमागमा सेट गराउनु पर्छ । तर, अहिलेसम्म यसो गरेको देखिएको छैन ।
यसका पछाडि दुईवटा कारण हुन सक्छ, एउटा दशैँमा रिलिज हुन्छ कि हुँदैन अथवा रिलिज गर्ने कि नगर्ने आफैँ दोधारमा हुनु । अर्को अरु सिनेमाले प्रचार गरेपछि सँगै रिलिज हुँदै यो सिनेमा भनेर आफैँ समाचारहरू आउने भएकाले प्रचार गर्नै पर्दैन भन्ने बुझाई निर्मातामा हुनु ।
होला, ‘१२ गाउँ २’ रिलिज हुँदा यो सँगै अरु यी सिनेमा पनि एकै दिन आउँदैछ भनेर जोडिएर खबरहरु आउलान् । तर, आफ्नो सिनेमाको प्रचार नै त्यही हो र त्यही नै पर्याप्त छ भन्ने सही होइन । मुल खबर बनेर आउनु, विषयबस्तुको पूरा ज्ञान र प्रचार हुनु र छेउमा नाम जोडिएर आउनु समान होइन ।
दर्शकको दिमागमा जसले आफ्नो सिनेमा नोटिस गराउन सक्छ, त्यसकै चर्चा हुन्छ । जुन सिनेमाको चर्चा हुन्छ, त्यसकै हाइप हुन्छ । र, जुन सिनेमाको हाइप धेरै हुन्छ, त्यही चलचित्र नै इनिसियल रुपमा चल्छ । त्यसैले आफ्नो सिनेमाको प्रचारमा निर्माताहरू जागरुक हुनै पर्छ । प्रचारमा स्वस्थ प्रतिस्पर्धा गर्नैपर्छ ।
दसैँमा नआउने हो भने बेलैमा आफू आउने डेट लिएर बस्नुपर्छ । च्याँखे थापेर बस्ने प्रवृत्तिले न आफ्नो सिनेमालाई राम्रो गर्छ न सँगै आउने भनेको अर्को चलचित्रलाई फाइदा हुन्छ ।
त्यसैले बेलैमा निर्णय गरेर आफ्नो सिनेमा आउने मिति पक्का गरेर अरुलाई बाटो खोलिदिनुपर्छ । ढुलमुले प्रवृत्ति र चरित्रले न आफूलाई फाइदा गर्छ न त दोस्र्रोपक्षलाई । त्यसैले यो प्रवृत्ति छोडेर प्रष्ट हुन सिकौँ । कि बाटो खाली गरिदियौँ कि बाटो लागेर खुरुखुरु हिँड्न थालौँ ।




