फलामलाई आकार दिने तातेका बेला हो भन्ने हेक्का रहोस्

संसद्ममा रहेको चलचित्र विधेयकमा फेरि एकपटक जोडबल गर्ने समय आएको छ । राष्ट्रिय सभा, प्रतिनिधि सभा हुँदै संसदीय समितिमा पुगेको विधेयकमा संशोधन गर्नुपर्ने पक्ष के–के छन्, यो चलचित्रकर्मीहरूलाई थाहा छ ।

चलचित्रकर्मीहरूले यसबारे सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै संशोधन आवश्यक रहेको बताएका छन् । त्यसैले केके हो आफूहरूले विधेयकमा संशोधन चाहेको, केके हटाएर के राख्यो भने चलचित्र उद्योगलाई फाइदा पुग्ने प्रावधान समेटिन्छ भन्ने कुरा अब राख्ने बेला आएको छ ।

संसदीय समिति भनेको मिनी संसद् हो । यहाँ दफावार छलफल हुन्छ । शब्दशब्द केलाउने भएकाले यहाँ रहेका सांसदलाई बुझाउने समय यही हो । अहिले भएकै अवस्थामा विधेयक पास हुँदाका घाटा के हुन् र परिमार्जन गर्दा के हुन्छ भनेर गहिराईमा पुगेर समितिमा रहेका सांसदहरूलाई बुझाउनुपर्छ ।

प्रतिनिधिसभामा यो विधेयक टेबल हुुँदा सांसदहरूले सकारात्मक कुराहरू उठाएका थिए । सञ्चार मन्त्रालयमा रहेको चलचित्र क्षेत्रलाई संस्कृति मन्त्रालय मातहत लैजानु पर्ने समेत बताएका थिए । त्यसैले यस्तो महत्वपूर्ण विषय समेत सांसदहरूले उठाइरहेका बेला चलचित्रकर्मीहरूले फेरि एकपटक कम्मर कसेर कसरी चलचित्र उद्योगलाई समृद्ध बनाउने कानुन बनाउने भनेर लाग्नु पर्ने देखिन्छ ।

विभागीय मन्त्रीले पनि विधेयकमा आफ्ना माग राख्न सकिने समय अझै रहेको, आफू यसमा सकारात्मक रहेको र पहल गर्न सकिने भनेर समितिमा रहेका सांसदहरूलाई भेटेर आफ्ना माग के हुन् भनेर बुझाउन सुझाव दिइसकेका छन् ।

सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको दीर्घकालीन विकासका लागि संसद्को संसदीय समितिमा छलफलमा रहेको विधेयकलाई समयसापेक्ष र व्यवहारिक बनाउन चलचित्रकर्मीको सक्रिय सहभागिता आवश्यक रहेको औँल्याएका छन् ।

कलाकार, निर्माता तथा सरोकारवालासँग संयुक्त छलफल गरेर सुझावलाई विधेयकमा समेट्न सुझाव दिन सकिन्छ । यसका लागि चलचित्रकर्मी र चलचित्र क्षेत्रसँग सम्बन्धित संघसंस्थाले तदारुकता देखाउनुपर्छ ।
चलचित्रकर्मीहरूका लागि चलचित्र क्षेत्र उनीहरूको जीवन र लगानी जोडिएको क्षेत्र हो । त्यसैले यसलाई बलियो र भब्य बनाउन विधेयकलाई पनि त्यस्तै बनाउनुपर्छ । विधेयकअनुसारको ऐन बन्ने हो ।

सरकार समितिसँग पनि आवश्यक समन्वय र संवाद गरेर अघि बढ्न तयार रहेको स्वयं मन्त्रीले नै बताइहेका बेला चलचित्रकर्मीले यो समयलाई सदुपयोग गर्नुपर्छ । फलाम तातेकै बेला हो त्यसलाई आकार दिने, सेलाएपछि फलामलाई आकार दिन जतिसुकै बल लगाए पनि त्यो बालुवामा पानी सरह हुनेछ भन्ने हेक्का रहोस् ।