स्क्रिप्टमा विवाद कि प्राविधिक समस्या ? सुरु भएको एक हप्तामै रोकियो चलचित्र ‘टिका’को छायांकन

काठमाडौं । चलचित्र ‘टिका : स्टेटलेस सोल’को छायांकन रोकिएको छ । जेठ २४ गतेबाट छायांकन सुरु भएको चलचित्रको छायांकन एक हप्तामै रोकिएको हो ।

कास्की जिल्लाको पामेबाट गत आइतबारदेखि यो चलचित्रको छायांकन सुरू भएको थियो ।

४० दिनको तालिकासहित फ्लोरमा गएको सिनेमा एक हप्तामै रोकिएको हो । सुटिङ अचानक रोकिएपछि अहिले कलाकार र प्राविधिकसहितको सम्पूर्ण निर्माण टोली काठमाडौं फर्किएको छ ।

यो चलचित्रको कास्कीमा ३० दिन खिचिर बाँकी काठमाडौं लगायतका ठाउँमा छायांकन हुने बताइएको थियो । निर्माताले छायांकन रोकेसँगै सबै टिम सोमबार र मंगलबार गरि काठमाडौं फर्किसकेको छ ।

स्रोतका अनुसार चलचित्रको मुख्य स्क्रिप्ट प्रति निर्माता सन्तुष्ट नभएपछि काम रोकिएको हो ।

स्रोत भन्छ, ‘‘चलचित्रको छायांकन सुरु भए पनि सुटिङ सेटमै अर्का एक निर्देशकको प्रवेश भएको थियो । उनले वर्तमान स्क्रिप्टमा चित्त बुझाइरहेका थिएनन् । उहाँले हालको स्क्रिप्टमा थप ‘क्रियटिभ’ काम र परिमार्जन आवश्यक रहेको सुझाव दिएपछि निर्माताले छायांकन रोकेका हुन् ।’’

”स्क्रिप्टलाई पूर्ण रूपमा नयाँपन दिएपछि मात्रै पुन: सुटिङ सुरु गर्ने तयारीमा निर्माता हुनुहुन्छ’’, स्रोत भन्छ, ”अब कहिले छायाकंन हुन्छ यकिनका साथ भन्न सकिने अबस्था छैन ।’’

तर, चलचित्रका कार्यकारी निर्माता तेजविक्रम केसीले भने स्क्रिप्टका कारण नभई अन्य प्राविधिक र व्यावहारिक कारणले छायांकन रोकिएको दाबी गरेका छन् ।

आर्टखबरसँग कुरा गर्दै कार्यकारी निर्माता केसीले भने, ‘‘हाम्रो केही चरणको छायांकन सकिएको छ । अब बाँकी दृश्यका लागि सेट बनाउनुपर्ने भएकाले त्यसको तयारीका लागि केही दिनको ब्रेक लिएका हौँ ।’’

साथै, केसीले थप कारण खुलाउँदै सिनेमाटोग्राफरको खुट्टा मर्किएको र मुख्य अभिनेत्री प्रियंका कार्कीले अन्य एक फिल्महरूको प्रमोसनका लागि समय दिनुपर्ने भएकाले पनि केही दिनका लागि सुटिङ ‘होल्ड’ गरिएको बताए । उनका अनुसार आगामी असार १२ गते बाट पुनः छायांकन सुरु गर्ने लक्ष्य राखिएको छ ।

महिलाप्रधान सिनेमा भनिएको यो चलचित्रलाई शंकर कार्कीको निर्देशन गरिरहेका छन् । चलचित्रको कथा शंकर कार्की र चन्दन झाले तयार गरेका थिए ।

भविष्य फिल्मस् प्रालि र थर्ड आई आट्र्सको ब्यानरमा निर्माण सुरु भएको फिल्मको निर्माता भविष्य खड्का हुन् । यो फिल्म तीजको अवसरमा आगामी भदौ २६ गतेबाट सार्वजनिक प्रदर्शनमा ल्याउने निर्माण टिमले मिति यसअघि नै बताएको थियो ।

चलचित्रमा प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, प्रकाश घिमिरे, रीना ढकाल, विविका पौडेल र आयुषी ढकालको प्रमुख अभिनय रहने बताइएको थियो । ‘टिका’मा नरेन्द्र मैनालीको सिनेमाटोग्राफी रहने बताइएको छ ।