धमाधम घोषणामै व्यस्त रघुनाथ, निर्माण घोषणा गरिएका पुराना फिल्म कहाँ पुगे ?

काठमाडौं । सञ्चारकर्मी तथा निर्माता रघुनाथ सापकोटाको नाम सुन्नेबित्तिकै धेरैलाई अहिले फिल्मभन्दा पहिले घोषणा नै सम्झना आउन सक्छ । उनले एकपछि अर्को फिल्म घोषणा गरेका छन्, तर अहिलेसम्म कुनै पनि फिल्म पर्दामा आउन सकेको छैन ।

झन्डै ६ वर्षअघि उनले अभिनेता नाजिर हुसेनलाई मुख्य भूमिकामा राखेर ‘चिलगाडी’ निर्माण गर्ने घोषणा गरेका थिए । घोषणा हुँदा फिल्मलाई लिएर राम्रै चर्चा भयो । तर वर्षौं बितिसक्दा पनि ‘चिलगाडी’ अझै बन्न सकेको छैन । अब बन्छ कि बन्दैन ? त्यो पनि टुंगो छैन ।

यो फिल्मपछि रघुनाथले ‘कमेडी किड्स’ नामक रियालिटी शोको घोषणा गरेका थिए । यो झन्डै डेढ वर्षअघिको कुरा हो । यो शोको डिजिटल अडिसनसमेत खुलाइयो र तयारीको माहोल बनाइयो । तर त्यो कार्यक्रम पनि अन्ततः दर्शकमाझ आउन सकेन ।

यतिमै नरोकी रघुनामले गतवर्ष एकैसाथ ‘कालकट्टी’ र ‘काकाको बिहे’ निर्माण गर्ने घोषणा गरे । अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्ने भनिएका ती दुवै फिल्म २०८३ सालमा प्रदर्शन गर्ने योजना सार्वजनिक गरिएको थियो । तर अहिले ती फिल्मको तयारी कहाँ पुग्यो ? जानकारी छैन । यतिबेला रघुनाथले फेरि अर्को नयाँ फिल्म ‘तीन तीघ्रे, क्या बिग्रे’ को औपचारिक घोषणा गरेका छन् ।

यो फिल्मबाट लोकदोहोरी गायक पशुपति शर्मा र गायिका अञ्जु पन्तकी छोरी मोडल परितोषिका पन्तले डेब्यु गर्ने तयारी गर्दैछन् । तर उनी निकट वा उनीसँग परिचित व्यक्तिहरूमाझ भने अर्को जिज्ञासा पनि सँगसँगै घुमिरहेको छ– अघिल्ला घोषणा भएका फिल्म आखिर कहाँ पुगे ?

यस विषयमा रघुनाथ भन्छन्–

तपाईंका यसअघि निर्माण गरेका सिनेमा नबनाई फेरि नयाँ घोषणा गर्नु भयो किन ?
हाम्रो टिमले सिनेमा निर्माण गर्ने भनेर तयारी गरेको र घोषणा गरेको करिव ६ बर्ष हुन लागेछ, सबै कुरा समय न आइ हुन्न भने झैँ अब बल्ल सिनेमा बन्ने समय आएको छ। ढिलाई पनि उत्कृस्ट काम हुनेछ भन्नेमा हाम्रो टिम पूर्ण बिस्वस्त छौँ। संसारमा नै घोषणा गरिएका सबै प्रोजेक्ट बन्छन भन्ने हुन्न, तर हाम्रा केहि प्रोजेक्ट अलिक पछि सरेका हुन् नबन्ने नै होइनन्।

किड्स रियालिटी शो पनि सुरु नै हुन सकेन, जसको अन्तिम तयारी हुँदैछ भन्ने थियो । तपाईंका हरेक प्रोजेक्ट किन घोषणामै सीमित भइरहेका छन् ?
किड्स रियालिटी शो ‘कमेडी किड्स’ को घोषणा मात्र होइन थुप्रै तयारीमा पनि गरिएको हो। देशको विषम परिस्थिति र बदलिएको माहोलका कारण केहि समय पश्चात रियालिटी शो को काम अघि बढ्ने नै छ।

यो सिनेमाको नियति पनि उस्तै त हुने होइन ?
नियतबस कुनै काम गरिएको होइन, समय र परिस्थितिका कारण गर्न खोजेका काम हुन सकेनन् तर प्रयास गर्न छोडिएको छैन। हाल चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ छायांकनमा जाने तयारीमा छ। प्रि प्रोडक्सनको काम अन्तीम चरणमा पुगी सकेको छ।

यो सिनेमाको नाम किन डबल मिनिङवाला राख्नु भयो ?
चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ कमेडी जनरामा बन्न लागेको सिनेमा हो । यसको कथा अनुसार यो नाम एकदम नै फिट भएर राखिएको हो । तीन जना केटाहरुलाई नेपाली बोलीचालीमा तीन तीघ्रे भनिन्छ, यो सामान्य बोलीचलिको शब्द हो । यसमा दुइ अर्थि त लाग्दैन ।

यस्तो सिनेमा बनिहाले पनि पारिवारिक दर्शक त नआउलान् नि ?
यो पूर्ण मनोरंजनको प्याकेज सिनेमा हुनेछ । पारिवारिक दर्शकलाइ पुरा स्वच्छ मनोरंजन दिने हाम्रो टिमको उदेश्य हो । यो सिनेमा पूर्ण पारिवारिक सम्पूर्ण फेमिली दर्शकको लागी हो । हामीले प्रचार सामाग्री सार्वजनिक गरेसंगै दर्शकको दिमागमा एउटा छाप छोड्नेमा हामि बिस्वस्त छौँ ।

अहिले भने उनी ‘तीन तीघ्रे, क्या बिग्रे’ को तयारीमा लागिरहेका छन् ।

यो फिल्मले निर्माणको गति समातेर पर्दासम्म यात्रा तय गर्छ कि फेरि अर्को घोषणाले यसको चर्चा छायामा पार्छ, त्यो भने हेर्न बाँकी नै छ । आखिर, रघुनाथ सापकोटाको पहिचान घोषणा गर्ने निर्माताको रूपमा सीमित रहन्छ कि घोषणा गरेको फिल्मलाई सफलतापूर्वक दर्शकमाझ पुर्‍याउने निर्माताको रूपमा स्थापित हुन्छ, त्यसको जवाफ समयले नै दिनेछ ।