मुकुन भुषाल अब ‘कंगाल करोडपति’
काठमाडौं । राजु श्रेष्ठको निर्देशनमा निर्माण हुने चलचित्र ‘कंगाल करोडपति’मा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन् ।
‘सिनेमा पाठशाला’को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको निर्माण पक्ष र अभिनेता भुषालबीच एक साताअघि आधिकारिक सम्झौता भएको हो ।
चलचित्रको विषयवस्तु र आफ्नो चरित्र प्रति उत्साह व्यक्त गर्दै मुकुनले यस सिनेमामा जोडिनुको मुख्य कारण पटकथा र आफ्नो पात्र रोचक लागेको बताएका छन् । उनले भने, ‘अहिले धेरै स्क्रिप्टहरु आइरहेका छन्, तर ‘कंगाल करोडपति’को कथा वाचन शैली र मलाई प्रस्ताव गरिएको पात्रले मलाई विशेष रूपमा आकर्षित गर्यो । त्यसैले यो फिल्म गर्ने निर्णय गरेको हुँ ।’
यो चलचित्र एउटा सामान्य मान्छे करोडपति र करोडपति कंगाल बन्दाको कथामा निर्माण हुने बताइएको छ ।
यस चलचित्रको घोषणा गत वर्षको कात्तिक महिनामा एक पत्रकार सम्मेलनमार्फत गरिएको थियो । सुरुवाती योजना अनुसार गत फागुन महिनादेखि नै छायांकन सुरु गर्ने भनिए पनि सिनेमाको काम अघि बढ्न सकेको थिएन । तर, अहिले अभिनेता भुषालको इन्ट्रीसँगै निर्माण पक्षले कामलाई पुनः तीव्रता दिएको छ ।
गत वर्षको कात्तिकमै पत्रकार सम्मेलन गर्दै निर्माण घोषणा गरिएको यो सिनेमाको फागुन महिनाबाट छायांकन थालिने समेत जानकारी गराइएको थियो । त्यस यता छायाकंनमा जान सकेको छैन ।
चलचित्रको हाल कलाकार छनोटको काम तीव्र रूपमा भइरहेको छ । निर्माण पक्षले चलचित्रको पूर्ण कलाकार तथा प्राविधिक टोलीबारे विस्तृत जानकारी केही समयपछि सार्वजनिक गर्ने जनाएको छ ।
निर्देशक राजु श्रेष्ठका अनुसार हाल चलचित्रका अन्य कलाकारहरुको छनोट कार्य धमाधम भइरहेको छ । कलाकारको टुंगो लाग्ने बित्तिकै एक चरणको कार्यशाला सञ्चालन गरिने र त्यसपछि मात्रै छायांकन सुरु गरिने तयारी छ ।
प्रविन आचार्यको प्रस्तुतिमा निर्माण हुने यस चलचित्रलाई सुमन गजमेरले लेखेका हुन् । सिनेमाको निर्मातामा अनिलकुमार बुढाथोकी रहेका छन् भने सह-निर्मातामा छिरिङ तामाङ छन् । त्यस्तै, लाइन प्रोड्युसरका रूपमा रीता श्रेष्ठ तामाङ र सुरज कुमार छन् ।
अभिनेता भुषाल अभिनित चलचित्र ‘रोल नम्बर १’ हाल नेपाली सिनेमाघरमा प्रदर्शनरत छ ।

