‘कंगाल करोडपति’मा रक्षा र मञ्जिलकुमारको इन्ट्री
काठमाडौं । राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको चलचित्र ‘कंगाल करोडपति’मा कलाकारहरू थपिने जारी छ । यसैबीच, निर्माण पक्षले अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमारलाई अनुबन्धित गरेको हो ।
चलचित्र ‘बाटो’बाट अभिनय यात्रा सुरु गरेकी रक्षा र ‘कोसेढुङ्गा’ मार्फत डेब्यु गरेका मञ्जिलकुमारको प्रवेशसँगै सिनेमाको कलाकार टोलीमा नयाँ उत्साह थपिएको निर्माण पक्षको विश्वास छ ।
सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको ‘कंगाल करोडपति’मा यसअघि अभिनेता मुकुन भुसाल र नव-अभिनेत्री सलिना तामाङ मुख्य भूमिकाका लागि फाइनल भइसकेका छन् ।
सलिनाले यही चलचित्रमार्फत नेपाली सिनेमामा डेब्यु गर्दैछिन् । यस्तै चलचित्रको एक महत्वपूर्ण भूमिकामा अभिनेता रेयर राई पनि अनुबन्धित भइसकेका छन् ।
रक्षा र मञ्जिलको आगमनले ‘कंगाल करोडपति’को कथावस्तु र अभिनय पक्षलाई अझ जीवन्त बनाउने अपेक्षा निर्माण पक्षले गरेको छ ।
यो चलचित्रको कथा तथा पटकथा सुमन गजमेरले तयार पारेका हुन् । निर्देशक श्रेष्ठले सिनेमालाई स्तरीय र दर्शकको चाहना अनुरूप बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
चलचित्रका प्रस्तुतकर्ता प्रविन आचार्य हुन् भने यसलाई अनिलकुमार बुढाथोकीले निर्माण गर्दैछन् । सिनेमाको सह-निर्मातामा छिरिङ तामाङ, प्रविन राई र प्रवेश सापकोटा रहेका छन् । त्यस्तै, रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरमा छन् ।
निर्माण पक्षका अनुसार हाल फिल्मको प्रि-प्रोडक्सनको काम धमाधम भइरहेको छ । विभिन्न स्थानमा लोकेसन रेकी (छायांकन स्थलको छनोट) गरिसकिएको र कलाकारहरूको वर्कसपसँगै छिट्टै छायांकन सुरु गर्ने तयारी रहेको निर्माण टोलीले जनाएको छ ।




