हलमा सुटुक्क आएको ‘जाँड’ले बक्सअफिसमा के गर्ला ?

काठमाडौं । देशभरका सिनेमा घरमा शुक्रबार (आज)बाट राजु शाहको निर्देशन रहेको चलचित्र ‘जाँड’ प्रदर्शनमा आएको छ । यो चलचित्र खासै प्रचारबाजी नगरी सुटुक्क हलमा आएको छ । त्यसैले यो चलचित्र रिलिज भएको धेरैले पत्तै पाएका छैनन् ।

सीमित शो पाएको छ । प्रचारप्रसार नगरी आएको यो सिनेमाले दर्शकको ध्यान तान्न सक्छ कि सक्दैन चासोको विषय छ । प्रचारको अभावमा हाइप समेत बनाउन नसकेको यो चलचित्र बक्सअफिसमा कस्तो प्रभाव छोड्ला भन्ने यतिबेला धेरैको चासो छ ।

चलचित्रले समाजका विभिन्न विकृति तथा कुसंस्कारविरुद्ध सशक्त सन्देश दिने निर्माणपक्षले जनाएको छ । चलचित्र ‘जाँड’ले मद्यपानका कारण परिवारमा उत्पन्न हुने तनाव, कलह र त्यसले समाजमा पार्ने नकारात्मक प्रभावलाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरेको छ ।

चलचित्रले मद्यपानको लतले पारिवारिक सम्बन्धमा ल्याउने दरारसँगै नेपाली समाजमा अझै विद्यमान ‘वंश धान्न छोरा नै चाहिन्छ’ भन्ने परम्परागत सोचमाथि पनि प्रश्न उठाएको छ ।

राजेन्द्र भट्टको निर्माणमा बनेको चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाललगायत कलाकारको अभिनय छ ।

सुकुलढोका मिडिया प्रालिको व्यानरमा निर्माण गरिएको चलचित्रको कथा, पटकथा तथा संवाद सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टले संयुक्तरूपमा तयार पारेका हुन् । चलचित्रका निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह छन् ।