झड्कामा ‘कार्की साइँला’ टिम, जितुमा निर्भर हुँदा आफैँ तर्सियो !

काठमाडौं । अभिनेता जितु नेपाल (मुन्द्रे) का लागि यतिबेला समय अनुकूल देखिएको छैन । उनले निकै महत्त्वाकाङ्क्षाका साथ निर्माण तथा अभिनय गरेको चलचित्र ‘आइ एम जितबहादुर’ बक्स अफिसमा पछारिएपछि यसको बाछिटा उनको आगामी चलचित्र ‘कार्की साइँला’मा समेत देखिएको छ ।

चलचित्र ‘आइ एम जितबहादुर’ बक्स अफिसमा अपेक्षाअनुसार सफल हुन नसकेको जितुले स्वीकार गरिसकेका छन् । हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले ‘आइ एम जितबहादुर’ व्यावसायिक रूपमा असफल भएको तथ्यलाई सहजै स्विकारे ।

उनले फिल्म नचल्नुमा कसैलाई दोष दिनुको साटो नेपाली फिल्म मेकिङको शैलीमै परिवर्तन आउनुपर्ने औँल्याए । ‘अहिलेका दर्शक निकै सचेत भइसकेका छन् । टिजर र ट्रेलरले नै हलसम्म तान्ने जादु गर्नुपर्छ,’ नेपालले भने, ‘उस्तै प्रकारका नियमित र परम्परागत फिल्म हेर्न अहिले दर्शकले समय र पैसा खर्चन चाहँदैनन् । नेपाली फिल्म उद्योगले अहिले ठूलो चुनौतीको सामना गरिरहेको छ, यसबारे गम्भीर बहस हुन जरुरी छ ।’

यता, ‘आइ एम जितबहादुर’ सुरुवाती दिन देखिनै अनुमान गरिए भन्दा फरक हुँदा जितु अभिनीत अर्को चलचित्र ‘कार्की साइँला’ले आफ्नो प्रदर्शन मिति नै सार्‍यो । साउन १ गतेलाई तय गरिएको प्रदर्शन मिति अब असोज २ गतेका लागि पुर्‍याइएको छ । बजारमा ‘आइ एम जितबहादुर’ फ्लप हुने भएपछि डरले सिनेमा सारिएको चर्चा चले पनि निर्माण पक्ष भने यसलाई स्विकार्न तयार छैन ।

‘कार्की साइँला’को मिति सर्नु मात्र ठूलो कुरा थिएन, तर निर्देशक राजेन्द्र बस्नेतले सामाजिक सञ्जालमा गरेको कटाक्षले यसलाई कटुता दिँदैछ । उनले ‘नेपाली चलचित्र डिरेक्टर बिना नै बन्छ कि के हो ? मतलब छैन त’ भन्दै घुमाउरो शैलीमा जितु नेपालमाथि प्रहार गरेका छन् ।

निर्देशक बस्नेतले सामाजिक सञ्जालबाट यसरी व्यङ्ग्य गर्नुको पछाडि जितु नेपालले ‘कार्की साइँला’को प्रचार सामाग्री आफ्नो सोसल मिडियामा सेयर नगर्नु । चलचित्र ‘पार्वती’को नयाँ गीत सेयर गरेर टिमलाई शुभकामना दिएका जितुले हालसम्म ‘कार्की साइँला’लाई सरोकार दिएका छैनन् ।

जितुको प्रचारप्रसारप्रतिको यो अरुचि टिमका लागि ‘निल्नु न ओकल्नु’ भएको छ । यसरी हेर्दा उनको स्टारडममा पूर्ण रूपमा निर्भर रहेको ‘कार्की साइँला’ टिम यतिबेला नराम्रो झड्कामा परेको छ ।

चलचित्रको प्रदर्शन मिति सार्नुका कारण निर्देशक बस्नेतले आर्टखबरसँग कुराकानी गर्दै यसरी स्पष्ट पारेका छन् ।

बस्नेत भन्छन्,‘जितु दाइको चलचित्र सुरुमा जेठतिर आउने भनिए पनि असारमा प्रदर्शन भयो । असारमा फिल्म आए लगत्तै साउनमा फेरि अर्को फिल्म आउँदा दर्शकमाझ एउटै हिरोको फिल्म लगातार हुने भएपछि यस कारण पनि सारेका हौँ । अर्को कारण हाम्रो निर्माता ज्यूको स्वास्थ्य अवस्था पनि ठिक नभएको र थोरै प्राविधिक कामहरू पनि न सकिएकाले हामीले यो फिल्मलाई असोज २ गते पुर्‍याएका हौँ खासमा, अरू त कारण केही छैन ।’

‘आई एम जितबहादुर’ले बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसकेपछि ‘कार्की साइँला’ डराएर सारिएको हो कि भन्ने चर्चालाई निर्देशकले अस्वीकार गरेका छन् । उनी भन्छन्, ‘त्यस्तो हैन, जितु दाइको फिल्म चल्नु भन्दा अगाडी नै हाम्रो यो प्रदर्शन मिति सार्ने लगभग लगभग तय भइसकेको थियो । दाइको फिल्म त असार ५ गतेबाट थियो । अनि जितु दाइको फिल्म असार ५ गते भन्दा अगाडी नै यो फिल्मलाई हामीले अलिकति सार्ने कि भनेर सोच भएर हो । त्यसरी दाइको फिल्म नचलेर चाहिँ हामीले सारेको हो भन्ने कुरा हैन । उहाँको फिल्म चल्नु भन्दा अगाडी नै हामीले यो वितरकसँग बसेर सहमतिमै असोज २ गते लाने है पक्का गरिसकेका थियौँ ।’

‘आई एम जितबहादुर’को पूर्ण असर ‘कार्की साइँला’मा पर्ने आशङ्कामा निर्देशक बस्नेत विश्वस्त देखिन्छन् । जितु नेपाल दुवै फिल्ममा भए पनि ‘कार्की साइँला’को विषयवस्तु र प्रस्तुति पूर्ण रूपमा फरक भएकाले दर्शकले यसलाई नयाँपनका साथ लिने उनको दाबी छ । ‘हाम्रो कन्टेन्ट नै फरक हो, त्यसैले ‘आई एम जितबहादुर’को नतिजाले हामीलाई असर गर्छ जस्तो लाग्दैन,’ उनले थपे ।