बक्स अफिसमा ‘लालीबजार’ चम्किँदा ‘जाँड’ र ‘जितबहादुर’ सुस्त, कसको कमाइ कति?
काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली चलचित्रहरूको पछिल्लो बक्स अफिस विवरण सार्वजनिक गरेको छ ।
बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो आइतबारसम्मको अवधिमा प्रदर्शनमा रहेका चलचित्रमध्ये ‘लालीबजार’ले कुल ९ करोड ३२ लाख ९ हजार ९२५ रूपैयाँ ग्रस कमाइ गरेको छ ।
सिनेपाः बक्स अफिस तथ्यांक अनुसार यो चलचित्रका हालसम्म ३ लाख १७ हजार १२ वटा टिकट बिक्री भइसकेका छन् । यो कमाइले नेपाली चलचित्र उद्योगमा यम थापा निर्देशित चलचित्र ‘लालीबजार’लाई व्यावसायिक रूपमा निकै सफल चलचित्रको सूचीमा उभ्याएको छ ।
गत जेठ १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘रोल नं १’ ले पनि बक्स अफिसमा सन्तोषजनक प्रदर्शन गरिरहेको छ । बोर्डका अनुसार यो चलचित्रले हालसम्म १ करोड ७४ लाख ८५ हजार ६५८ रूपैयाँ ग्रस कलेक्सन गरेको छ । यो अवधिमा चलचित्रका ६९ हजार १६६ वटा टिकट बिक्री भएका छन् ।
असार ५ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘आई एम जितबहादुर’ को व्यापार भने औसत देखिएको छ । यसले हालसम्म ३१ लाख ३६ हजार ११२ रूपैयाँ ग्रस कमाएको छ । चलचित्रले ९ हजार ७४२ वटा टिकट बिक्री गर्न सफल भएको विवरणमा उल्लेख छ ।
त्यस्तै, असार १२ गतेबाट प्रदर्शन सुरु गरेको राजु शाह निर्देशित चलचित्र ‘जाँड’ को सुरुवात भने निकै कमजोर देखिएको छ । चलचित्रले पहिलो केही दिनमा जम्मा १ लाख १६ हजार ६४५ रूपैयाँ मात्र ग्रस कमाइ गरेको छ । यो चलचित्रका ५ सय ६९ वटा टिकट मात्र बिक्री भएको बोर्डको तथ्यांकले देखाउँछ ।
एक नजरमा बक्स अफिस रिपोर्ट
| चलचित्रको नाम | रिलिज मिति | कुल ग्रस कमाइ (रू.) | टिकट बिक्री संख्या |
| लालीबजार | बैशाख २३ | ९,३२,०९,९२५ | ३,१७,०१२ |
| रोल नं १ | जेठ १५ | १,७४,८५,६५८ | ६९,१६६ |
| आई एम जितबहादुर | असार ५ | ३१,३६,११२ | ९,७४२ |
| जाँड | असार १२ | १,१६,६४५ | ५६९ |

