नेपाली चलचित्र: ६० वर्षे इतिहासमा ‘पूर्णबहादुरको सारंगी’को कीर्तिमान, यी हुन् २६ वर्षका सर्वाधिक कमाउने ३१ सिनेमा
काठमाडौं । नेपाली चलचित्र उद्योगले आफ्नो ६० वर्षे यात्रामा एउटा यस्तो विन्दुमा आइपुगेको छ, जहाँ एउटै चलचित्रले ४६ करोडभन्दा बढीको व्यापार गर्न सफल भएको छ ।
बोर्डले आफ्नो स्थापनाको २६औँ वार्षिकोत्सवको अवसर पारेर नेपाली सिनेमामा सर्वाधिक कमाइ गर्ने ३१ चलचित्रहरूको सूची सार्वजनिक गरेको हो ।
बोर्डको विवरण अनुसार विगत २६ वर्षको अवधिमा ७ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्न सफल ३१ वटा ‘ब्लकबस्टर’ चलचित्रहरूले नेपाली बजारको नयाँ आयामलाई झल्काएका छन् ।
सार्वजनिक सूचीको पहिलो नम्बरमा वि.सं. २०८१ सालमा प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ रहेको छ । यस चलचित्रले ४६ करोड ८७ लाख रुपैयाँभन्दा बढीको ऐतिहासिक कमाइ गर्दै नेपाली सिनेमाको व्यापारमा नयाँ बेन्चमार्क कायम गरेको छ । यो कमाइ दोस्रो स्थानमा रहेको ‘कबड्डी ४’ (२१ करोड ४० लाख) को तुलनामा दोब्बरभन्दा बढी हो ।
तेस्रो स्थानमा २०८१ कै अर्को हिट चलचित्र ‘१२ गाउँ’ रहेको छ, जसले १९ करोड ९२ लाख रुपैयाँ संकलन गरेको छ । यस्तै, ‘परान’ १७ करोड ७६ लाख र ‘छक्का पञ्जा ४’ १७ करोड ५३ लाख रुपैयाँसहित क्रमशः चौथो र पाँचौँ स्थानमा रहेका छन् ।
व्यावसायिक सफलताको सूचीमा हेर्दा नेपाली दर्शकहरूले चर्चित ‘फ्रेन्चाइज’ सिनेमाहरूलाई अत्यधिक रुचाएको देखिन्छ । ‘छक्का पञ्जा’ सिरिजका पाँचवटै चलचित्रहरू र ‘कबड्डी’ सिरिजका चारवटै चलचित्रहरू उच्च कमाइ गर्ने सूचीमा छन् ।
सूचीमा रहेका अधिकांश चलचित्रहरू वि.सं. २०७० यताका भए तापनि २०५८ सालमा प्रदर्शनमा आएको चलचित्र ‘आगो’ले आफ्नो ऐतिहासिक विरासत कायम राखेको छ । ७ करोड २० लाख रुपैयाँ कमाएको यो चलचित्र दुई दशक अगाडिको टिकट दर र सीमित हल संख्याका हिसाबले निकै ठूलो उपलब्धि मानिन्छ ।
चलचित्र विकास बोर्डका अनुसार यस प्रकारको अभिलेखीकरणले नेपाली चलचित्र उद्योगको वास्तविक बजार क्षमता कति छ भन्ने स्पष्ट पार्छ । यसले निर्माताहरूलाई लगानीको योजना बनाउन, वितरकलाई बजार विस्तार गर्न र समग्र सिने क्षेत्रलाई व्यावसायिक रूपमा थप पारदर्शी र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास बोर्डले लिएको छ ।
सर्वाधिक कमाइ गर्ने ३१ नेपाली चलचित्रको पूर्ण विवरण:
| क्र.सं. | चलचित्रको नाम | कमाइ (रुपैयाँमा) |
| १ | पूर्णबहादुरको सारंगी | ४६ करोड ८७ लाख |
| २ | कबड्डी ४ | २१ करोड ४० लाख |
| ३ | १२ गाउँ | १९ करोड ९२ लाख |
| ४ | परान | १७ करोड ७६ लाख |
| ५ | छक्का पञ्जा ४ | १७ करोड ५३ लाख |
| ६ | जारी | १७ करोड ४८ लाख |
| ७ | छक्का पञ्जा १ | १६ करोड १० लाख |
| ८ | महाजात्रा | १५ करोड ६७ लाख |
| ९ | छक्का पञ्जा ५ | १५ करोड २० लाख |
| १० | कोहिनूर | १४ करोड ७५ लाख |
| ११ | छक्का पञ्जा २ | १४ करोड ५१ लाख |
| १२ | आबाट आमा | १३ करोड २० लाख |
| १३ | शत्रु गते | १२ करोड ६५ लाख |
| १४ | जेरी अन टप | १२ करोड २८ लाख |
| १५ | ऊनको स्वीटर | १० करोड ६२ लाख |
| १६ | कबड्डी कबड्डी | १० करोड ३५ लाख |
| १७ | बोक्सीको घर | १० करोड १० लाख |
| १८ | छ माया छपक्कै | ९ करोड ९२ लाख |
| १९ | लालीबजार | ९ करोड ३१ लाख |
| २० | लुट २ | ९ करोड २१ लाख |
| २१ | दिमाग खराब | ८ करोड ९८ लाख |
| २२ | अञ्जिला | ८ करोड ८३ लाख |
| २३ | परदेशी २ | ७ करोड ९२ लाख |
| २४ | छक्का पञ्जा ३ | ७ करोड ८३ लाख |
| २५ | प्रेम गीत ३ | ७ करोड ६३ लाख |
| २६ | कबड्डी कबड्डी कबड्डी | ७ करोड ५९ लाख |
| २७ | पुजार सार्की | ७ करोड ३८ लाख |
| २८ | महापुरूष | ७ करोड ३५ लाख |
| २९ | कबड्डी | ७ करोड ३४ लाख |
| ३० | पशुपति प्रसाद २ः भस्मेडन | ७ करोड ३२ लाख |
| ३१ | आगो | ७ करोड २० लाख |

