‘शुभ विवाह’मा प्रदीपलाई शनिशासँग जोडी बाँधिदिँदै सुदर्शन

काठमाडौं । निर्देशक सुदर्शन थापा चलचित्र निर्माणको तयारीमा छन् । उनले यसपटक प्रदीप खड्कालाई लिएर चलचित्र बनाउँदै छन् ।

तर, यसबारे उनले विस्तृतमा जानकारी दिएका छैनन् । मुख्य कलाकारमा प्रदीपको नाम उल्लेख गरेर ‘शुभ विवाह’को लागि निर्माण इजाजत उनले लिएका छन् ।

सुदर्शनले प्रदीपको अपोजिटमा शनिशा भट्टराईलाई लिने तयारी गरेको स्रोतले बताएको छ । तर, यसबारे निर्देशक थापाले औपचारिक रूपमा कुनै जानकारी भने दिएका छैनन् ।

शनिशाले केही दिन अघि मात्रै ‘छ माया छपक्कै २’को छायांकन सकेकी छन् । प्रदीप भने चलचित्र ‘ऐरी’को छायांकनमा व्यस्त छन् ।

विकास बोर्डमा निर्माणका लागि इजाजत लिँदा चलचित्रको बजेट २ करोड रुपैयाँ लाग्ने उल्लेख छ ।

‘प्रेम गीत’पछि प्रदीप र सुदर्शनले पहिलोपटक यो चलचित्रमा सँगै काम गर्न लागेका हुन् । ‘प्रेम गीत’ प्रदीप र सुदर्शनबीच भएको खटपटपछि यी दुईले कुनै पनि काम सँगै गरेका थिएनन् । ‘प्रेम गीत’पछि प्रदीप स्टार अभिनेताका रुपमा उदाएका थिए ।