‘अरुको घर बिगारेर के पाउँछौ ?’: कलाकारको नैतिकता र आचरणप्रति गायिका एलिना चौहानको आक्रोश

काठमाडौं । चर्चित गायिका एलिना चौहानले कलाकारहरूको सामाजिक जिम्मेवारी र व्यक्तिगत नैतिकतालाई लिएर सामाजिक सञ्जालमा गरेको एउटा टिप्पणी यतिबेला चर्चामा छ ।

एलिनाले फेसबुकमा स्टाटस लेख्दै कलाकारिता क्षेत्रमा आवद्ध केही महिला कलाकारहरूको व्यवहारका कारण समग्र कलाकार समुदायको प्रतिष्ठामाथि नै प्रश्न उठ्न थालेको भन्दै टिप्पणी गरेकी छन् ।

एलिनाले आफ्नो स्टाटसमा अरूको वैवाहिक सम्बन्धमा हस्तक्षेप गर्ने प्रवृत्तिको कडा आलोचना गरेकी छन् । उनले विवाहेत्तर सम्बन्धका कारण अर्को महिलाको मानसिक स्वास्थ्यमा पर्ने गम्भीर असरबारे चर्चा गर्दै लेखेकी छन्, “म आफैँ पनि कलाकार हुँ । तर कहिलेकाहीँ केही महिला कलाकारहरूको व्यवहार देख्दा साँच्चै लाज लाग्छ । अरूको श्रीमानसँग सम्बन्ध राखेर अर्को महिलालाई मानसिक रूपमा यति कमजोर बनाइन्छ कि उसले आफ्नो जीवन नै समाप्त गर्ने अवस्थामा पुग्छे ।”

उनले यस्ता गतिविधिले एउटा सुन्दर परिवार मात्र नभई पीडित महिलाको अस्तित्व नै जोखिममा पर्ने कुरालाई औंल्याएकी छन् ।

सार्वजनिक व्यक्तित्व भएकाले कलाकारहरू समाजका लागि रोल मोडल हुनुपर्नेमा एलिनाको जोड छ । व्यक्तिगत स्वार्थ र क्षणिक सुखका लागि अरूको घर–संसार भत्काउनु अनैतिक कार्य भएको उनको ठहर छ ।

एलिनाले प्रश्न गर्दै लेखेकी छन्, “अरूको घर बिगारेर के पाउँछौ? के नेपालमा केटाको यति नै कमी छ ?” उनका अनुसार यस्ता गैरजिम्मेवार गतिविधिले कलाकारिताप्रतिको जनविश्वासलाई कमजोर बनाउँदै लगेको छ । कलाकारहरूले आफ्नो कलामार्फत समाजलाई सकारात्मक सन्देश दिनुपर्नेमा उल्टै समाजमा नकारात्मक उदाहरण पेश गरिरहेकोमा उनले खेद प्रकट गरेकी छन् ।

एलिनाको यो स्टाटस सार्वजनिक भएलगत्तै धेरैजसो प्रयोगकर्ताले एलिनाको भनाइलाई समर्थन गर्दै ‘कलाकारहरू समाजको ऐना भएकाले उनीहरूको व्यक्तिगत जीवन पनि मर्यादित हुनुपर्ने’ धारणा राखेका छन् ।

यद्यपि, केही प्रयोगकर्ताले भने पर्याप्त तथ्य र प्रमाणबिना वा कसैको नाम नतोकी गरिने यस्ता टिप्पणीले अन्य निर्दोष कलाकारहरूलाई पनि शंकाको घेरामा ल्याउन सक्ने तर्क गरेका छन् ।

एलिनाले आफ्नो स्टाटसमा कुनै पनि निश्चित कलाकार वा व्यक्तिको नाम उल्लेख गरेकी छैनन् । उनले यो टिप्पणी पछिल्लो समय घटेका कुनै घटनालाई लक्षित गरेर गरेकी हुन् वा समग्र क्षेत्रमा बढ्दै गएको विकृतिप्रति असन्तुष्टि मात्र हो भन्ने विषयमा आधिकारिक पुष्टि हुन बाँकी छ ।