बिष्णु माझीसँग पछाडी परेपछि एलिना चौहान भन्छिन्- मेरा लागि भ्यूज केवल अंक हो

काठमाडौं । तीज गीतको भ्यूज दौडमा यसपटक पनि गायिका बिष्णु माझी अगाडि देखिइन् । उनको गीत ‘घरबार’ले छोटो समयमै करोडौँ भ्यूज बटुल्दै यस वर्षको सर्वाधिक हेरिएको तीज गीत बन्न सफल भयो ।

माझीको गीत तीज आउनुभन्दा करिब दुई साताअघि मात्रै सार्वजनिक भएको थियो । रसुवा बाढीका कारण यसपटक तीजका कार्यक्रमसमेत अघिल्ला वर्षको तुलनामा कम भए । तर यसको असर युट्युब र टिकटकमा भने खासै देखिएन ।

हरेक वर्ष तीजमा बिष्णु माझीको गीतको प्रतीक्षा गर्ने दर्शकको संख्या ठूलो छ । कतिपय दर्शक त उनको गीत सार्वजनिक नभएसम्म तीज आएको अनुभूति नै नहुने बताउँछन् । यही कारण हुन सक्छ, अन्य समयमा खासै चर्चामा नआउने माझी तीज लागेसँगै सबैभन्दा बढी चर्चामा आउँछिन् ।

सुन्दरमणि अधिकारीको शब्द तथा संगीतमा माझीले गाउने तीज गीतको आफ्नै शैली स्थापित भइसकेको छ । गीतको भाका र भिडियोमा खासै नयाँपन नदेखिए पनि उनको गीतप्रतिको दर्शकको आकर्षण भने हरेक वर्ष उस्तै देखिन्छ ।

यसपटकको ‘घरबार’ले ११ करोड २१ लाख ३४ हजार ९ सय ४६ भ्यूज पाइसकेको छ ।

यसअघि गायिका एलिना चौहान, रचना रिमाल र मेलिना मैनालीको स्वरमा रहेको ‘नौरती फुली’ले करोड भ्यूज पार गरेको थियो । करिब एक महिनाअघि सार्वजनिक भएको उक्त गीतले अहिलेसम्म १ करोड १९ लाख ३७ हजार ३ सय ६४ भ्यूज पाएको छ ।

तर ‘नौरती फुली’ले एक महिनामा पाएको भ्यूजलाई ‘घरबार’ले करिब दुई सातामै उछिनेपछि सामाजिक सञ्जालमा यी दुई गीतको तुलना हुन थाले । यही तुलना भने एलिनालाई मन परेको छैन ।

उनले सामाजिक सञ्जालमार्फत आफूलाई बिष्णु माझीसँग तुलना नगर्न आग्रह गरेकी छन् । साथै आफ्ना लागि भ्यूजभन्दा आफ्नो गीत र सांगीतिक यात्राको महत्व ठूलो भएको बताएकी छन् ।

एलिनाले लेखेकी छन्, ‘भ्यूज मेरो लागि केवल एउटा नम्बर हो । बिष्णु माझीजस्तो महान् कलाकारसँग मेरो तुलना गरेर मलाई त्यति माथि नपुर्‍याइदिनुस् न हौ ।’

उनले बिष्णु माझीको आफ्नै इतिहास र उचाइ रहेको बताउँदै आफ्नो यात्रालाई पनि छुट्टै रूपमा हेर्न आग्रह गरेकी छन् ।

‘उहाँको गीतको आफ्नै इतिहास र उचाइ छ, मेरो गीतको आफ्नै यात्रा छ। उहाँको गीतसँग मेरो कुनै लेनदेन छैन, तुलनाको पनि आवश्यकता छैन,’ एलिनाले भनेकी छन् ।

आफ्नो गीतलाई दर्शकले दिएको मायाप्रति भने उनी खुसी छिन् । ‘मलाई मेरो गीतका लागि, मेरो यात्राका लागि माया गरिदिनुस्। मेरो गीतलाई यति धेरै माया गरिदिनुभएकोमा म गर्व गर्छु, मनदेखि आभारी छु,’ उनले लेखेकी छन् ।