वास्तविकता तत्काल बाहिर ल्याइयोस्

चलचित्र विकास बोर्ड विवादमा तानिएको छ । पारदर्शिताको विषयलाई लिएर बोर्ड विवादमा तानिएको हो ।

कान्स फिल्म फेस्टिबलमा नेपालको तर्फबाट भएको कमजोरीबारे अख्तियारले छानबिन अघि बढाएको खबरहरू बाहिर आएका छन् । उक्त फिल्म महोत्सवमा चलचित्र विकास बोर्ड र पर्यटन बोर्ड मिलेर स्टल खरिद गरेका थिए । सोही खरिदका क्रममा अनियमितता भएकोबारे अख्तियारमा उजुरी परेको थियो ।

उक्त उजुरीमा स्टल खरिदमा आर्थिक अनियमितता भएको भन्दै छानबिन गर्न माग गरिएको थियो । उक्त उजुरीका आधारमा अख्तियारले सञ्चार मन्त्रालयलाई बोर्डको उक्त कार्यक्रमसँग सम्बन्धित कागजपत्र मागेको थियो ।

कान्समा नेपालका तर्फबाट नेपाली चलचित्रको जानकारी दिने उद्देश्यले स्टल खरिद गरिएको थियो । सोही खरिदमा आर्थिक अनियमितता भएको भन्दै उजुरी परेको हो । नेपाली चलचित्रको प्रचार गर्न भनेर खरिद गरिएको भने पनि कान्समा छनोट भएको नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’को पोस्टर राखिएको थिएन ।

चलचित्र ‘एक्लो’को मात्रै पोस्टर राखिएको थियो । सोही विषयलाई लिएर त्यही समय नै बोर्डको चर्को आलोचना भएको थियो । तर, बोर्डले भने आफूले उक्त स्टलमा राखिने सामग्रीका लागि पटकपटक आह्वान गर्दा पनि पोस्टर उपलब्ध जराइएको बताउँदै आएको छ ।

अख्तियारले छानबिन गर्न भनेको हो । छानबिन गरिसके पछि मात्रै बोर्डको बदमासी छ कि छैन भन्ने थाहा हुनेछ । अहिले नै बोर्ड दोषी प्रमाणित भइसकेको छैन । उजुरी पर्दैमा कोही दोषी हुँदैन । तर बदमासी कसको हो, छानबिनपछि थाहा हुने नै छ । त्यसैले वास्तविकताका लागि केही समय कुर्नेपर्नेछ ।

तर, यदि बोर्डको साँच्चै बदमासी रहेको प्रमाणित भयो भने यसको नेतृत्वमा त दाग लाग्ने नै छ, बोर्डको छवि पनि धमिलो हुनेछ । नयाँ सरकारले बोर्डले नेतृत्व गरिरहेको चलचित्र क्षेत्रलाई सकारात्मक रूपमा लिएर अगाडि बढाउला कि भनेर धेरैले अपेक्षा गरिरहेका बेला यदि दोषी भेटिए पक्कै पनि त्यसको नकारात्मक असर देखिनेछ ।

चलचित्र क्षेत्र साँच्चै विवादरहित, इमानदारितासहित अगाडि बढिरहेको छ, यहाँ अन्य क्षेत्रमा जस्तो बदमासी छैन भनेर अरुलाई आकर्षित गर्दै जाज्वल्यमान बनाउनु पर्ने समयमा बोर्ड नै अपरादर्शी र आर्थिक हिनामिनाको दलदलमा फस्यो भने सरकारले हेर्ने दृष्टिकोण नै नकारात्मक हुनेछ ।

चलचित्र विधेयकमा लविङ गर्ने समय छ । यसको नेतृत्व गर्ने अन्ततः बोर्डले नै गर्ने हो । तर, बोर्ड मै बदमासी गरेको ठहर भयो भने सांसदहरूलाई फेस गर्ने नैतिकता बोर्डसँग रहने छैन । त्यसैले यस्तो विषयमा नेतृत्व सधैँ सगज र पारदर्शी रहनुपर्छ ।

अहिलेलाई भने को दोषी हो, तत्काल छानबिन सकेर सत्यतथ्य बाहिर ल्याउने काम होस् ।