अनमोल मेसीको फ्यान, भुवन म्यारोडोनाको डाइहर्ट फ्यान

काठमाडौं । अभिनेता भुवन कसीले अनमोल वर्ल्डकप फुटबल हेर्न जानुको कारणबारे बताएका छन् । अनमोल लियोनल मेसीको फ्यान भएकाले उसको खेल हेर्न अमेरिका गएको उनले बताएका छन् ।

“अनमोल मेसीको फ्यान हो । अब सम्भवत मेसीको वर्ल्डकप खेल्दैन, त्यसैले पनि अनमोल मेसीको गेम हेर्न अमेरिका गएको हो,” भुवनले भने, “बाटुलो जुन सकिएपछि अनमोल उसको साथीहरुलाई भेट्न यसै पनि अमेरिका जाँदै थियो । तर, यही समयमा वर्ल्डकप पनि परेकाले यो अवसर किन मिस गर्ने भनेर अमेरिका गएको हो ।”

अहिले नयाँ अनुभव संगालिरहेको भनेर अनमोलले सेयर गरिरहेको भुवनले जानकारी दिए । अनमोलले मेसीको हरेक गेम अहिले रंगशालामा पुगेर हेरिरहेका छन् ।

भुवन भने अर्जेन्टिनी स्टार म्यारोडोनाका फ्यान हुन् । “म म्यारोडोनाको फ्यान हुँ । म्यारोडोनाकै कारण मैले अर्जेन्टिना भन्ने देश चिनेको हुँ, त्यसअघि अर्जेन्टिना भन्ने देश छ भन्ने मलाई थाहा थिएन,” भुवनले भने, “अहिले मलाई मेसीको गेम मन पर्छ ।”

तर, क्रिस्टियानो रोनाल्डो र एम्बाप्पे पनि आफूलाई मन पर्ने उनले बताएका छन् । “देशका रुपमा म अर्जेन्टिनाको समर्थक हुँ । तर, व्यक्तिका रुपमा पनि रोनाल्डो र एम्बाप्पेको फ्यान हुँ ।”