‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

काठमाडौं । अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक गरिएको छ ।

भदौ २६ गते प्रदर्शनमा आउने ‘पेन्सन पट्टा’को साउन ११ को अवसर पारेर निर्माण टिमले आगामी भदौ २६ गते देशभर प्रदर्शनमा आउने चलचित्रको पहिलो गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको गीतमा अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, गौमाया गुरुङ, माओत्से गुरुङ लगायतका कलाकारको आकर्षक अभिनय तथा प्रस्तुति देख्न सकिन्छ ।

गुरुङ समुदायको सांस्कृतिक परिवेश, भेषभूषा र मौलिक जीवनशैलीलाई कलात्मक ढंगले प्रस्तुत गरिएको गीतले दर्शकमाझ विशेष आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

गीतमा हर्क साउदको शब्द, मनोज थापा मगरको संगीत रहेको छ भने सरुन गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङको स्वर सुन्न सकिन्छ ।

गीतको कोरियोग्राफी कमलबहादुर गुरुङले गरेका हुन् । संगीत संयोजनमा सञ्जीव बराइलीको गितार, पोषण मगरको मादल, रत्न विश्वकर्माको बाँसुरी तथा मनीष गन्दर्बको सारङ्गी वादन रहेको छ । गीतको मिक्सिङ जन्रिक्सले गरेका छन् ।

‘जुनी जाला’ले गुरुङ संस्कृतिअनुसार सजाइएको मौलिक परिवेशमा प्रेम, समर्पण र जीवनभर सँगै रहने प्रतिबद्धताको भावलाई प्रस्तुत गरेको छ ।

स्थानीय जीवनशैली, प्राकृतिक सौन्दर्य र ग्रामीण परिवेशलाई गीतमार्फत जीवन्त बनाइएको छ । चलचित्रको मूल कथावस्तु, पात्रहरूको जीवनयात्रा, पारिवारिक सम्बन्ध, संघर्ष र गाउँले परिवेशलाई समेत गीतले प्रभावकारी रूपमा संकेत गरेको छ ।

निर्देशक माओत्से गुरुङका अनुसार ‘पेन्सन पट्टा’ आशा, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राखेर जीवनमा लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने संघर्षको कथा हो ।

चलचित्रमा पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधरलगायत कलाकारको पनि अभिनय रहेको छ ।

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा निर्देशन स्वयं माओत्से गुरुङकै हो ।

चलचित्रमा सुशन प्रजापतिको छायांकन, नेमिश श्रेष्ठ र केर डी. कोइच लिनुचको सम्पादन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, उत्तम न्यौपानेको साउन्ड डिजाइन, नवीन श्रेष्ठको सिन्क साउन्ड, मनोज श्रेष्ठको भिएफएक्स तथा राजु याक्चाको कला निर्देशन रहेको छ ।

‘पेन्सन पट्टा’ले ग्रामीण जीवन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र मानवीय संवेदनाको कथा दर्शकमाझ सशक्त रूपमा प्रस्तुत गर्ने निर्माण पक्षको विश्वास छ ।