चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर हेरेपछि इन्डियन एम्बेसीले किन बोलायो ?
काठमाडौं । चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक भएपछि निर्माण टोली त्यही ठाउँमा पुगेको छ, जहाँबाट वास्तविक पेन्सन पट्टा जारी हुन्छ । र, त्यो ठाउँ हो– भारतीय राजदूतावासस्थित मिलिटरी पेन्सन शाखा ।
चलचित्रको कथासँग प्रत्यक्ष जोडिएको पेन्सन पट्टा जारी हुने कार्यालयमै निर्माण टोली पुगेपछि यो भेटघाट चलचित्र क्षेत्रमा चासोको विषय बनेको छ । उक्त शाखाबाट नेपालमा रहेका भारतीय भूतपूर्व सैनिक तथा उनीहरूका परिवारलाई पेन्सन वितरण गरिँदै आएको छ । पेन्सन पट्टा जारी गर्ने तथा त्यसमा भएका त्रुटि सच्याउने कामसमेत यही शाखाबाट हुने गर्दछ ।
‘पेन्सन पट्टा’को ट्रेलर हेरेपछि यसको विषयवस्तुप्रति चासो व्यक्त गर्दै शाखाले निर्माण टोलीलाई भेटघाटका लागि निम्तो दिएको थियो । तर, नेपालमा आएको विनाशकारी बाढीका कारण निर्माण पक्षले चलचित्रसम्बन्धी भेटघाट तथा प्रचार–प्रसारका कार्यक्रम तत्काल रोकेकाले भेटघाट केही ढिला भएको निर्माण पक्षले जनाएको छ ।
भेटघाटका क्रममा निर्माण टोलीले शाखाका कर्मचारीहरूसँग अन्तरक्रिया गरेको थियो । कर्मचारीहरूले चलचित्र निर्माण भएकोमा बधाई तथा सफलताको शुभकामना दिएका थिए ।
निर्देशक तथा अभिनेता गुरुङले भेटका क्रममा भारतीय दूतावासका कर्मचारीले देखाएको आत्मीयताको प्रशंसा गरे ।
“मीठो नेपाली भाषा बोल्ने मेजर राहुल झा तथा भारतीय दूतावाससम्बद्ध कर्मचारीज्यूहरूले देखाउनुभएको आत्मीयताप्रति हार्दिक आभार,” गुरुङले भने ।
भेटघाटका क्रममा आफूले केही नयाँ जानकारीसमेत पाएको गुरुङले बताए । उनका अनुसार नेपालमा भारतीय सेना तथा असैनिक (सिभिल) सेवाका गरी १ लाख १९ हजार ५०४ जना पेन्सनभोगी रहेका छन् ।
भारत सरकारले नेपालमा रहेका पेन्सनभोगीलाई वार्षिक करिब ७ हजार १ सय करोड नेपाली रुपैयाँ पेन्सनबापत पठाउने गरेको उनले जानकारी पाए ।




