गत वर्षका सर्वाधिक हिट नीर शाह यो वर्ष एक हप्ता पनि टिक्न सकेनन् हलमा

काठमाडौं । निर्देशक तथा अभिनेता नीर शाहका लागि गत वर्ष जति सुखद् रह्यो, यो वर्ष त्यति नै दुखद् रह्यो । कारण अरु केही नभएर सिनेमा नै हो ।

गत वर्ष नीर शाह मुख्य भूमिकामा रहेको चलचित्र ‘परान’ वर्षकै सर्वाधिक धेरै कमाउने चलचित्र बनेको थियो, जसको हिरो नीर शाह थिए ।

तर, यो वर्ष अवस्था उल्टियो । सुखद् समय एक वर्षभन्दा लामो समय जान सकेन । गत वर्ष समाचारको हेडलाइनमा रहेका नीर शाहले यो वर्ष त्यो अवसर पाएनन् । हरेक वर्ष एउटै अभिनेताको सिनेमा हिट हुन्छ भन्ने होइन । यो सम्भव पनि छैन ।

तर, नीर शाहको सिनेमा ‘कमला मिस’ यो वर्ष औषत पनि रहन सकेन । खासै हल्लाखल्ला नगरी हलका आएको यो चलचित्रले सुरुमै बजारमा हाइप बनाउन सकेन । हाइप बनाउन नसकेको यो चलचित्रले देशभर जम्मा ४० शो मात्रै पायो ।

पाएका शोमा पनि दर्शक आएनन् । त्यसैले यो सिनेमा एक हप्ता पनि हलमा टिक्क सकेन । दर्शक नै हलमा ‘कमला मिस’ हेर्न नआए पछि हलहरूले एक हप्ता नै नपुगी सिनेमा उतारिदिए ।

पाएका शोमा पनि दर्शक नगएपछि नीर शाहले तीतो अनुभव संगाल्नु पर्‍यो । गत पर्वको मिठो अनुभव वर्ष नपुग्दै तीतो अनुभवमा परिणत भयो । गत वर्ष ६० वर्षको आफ्नो सिने करियरमा पहिलोपटक इन्डस्ट्रीका सब एक सय एक हिरोहरूलाई पाखा लगाएका उनले यसपटक आफैँ साइड लाग्नु पर्‍यो ।

गत वर्ष उनी चलचित्र ‘परान’को अभिनेता मात्रै थिए । तर, यसपटक उनी आफैँ निर्देशक पनि थिए । यसको अर्थ नीर शाहको निर्देशन क्षमतामाथि प्रश्न उठेको होइन । किनकि इतिहास पल्टाए हेर्ने हो भने उनी सफल निर्देशक हुन् । नेपाली चलचित्र उद्योगमा साहित्यिक कृतिमाथि कसैले सिनेमा बनाएर सबैभन्दा धेरै सफल भएका छन्, भने ती नीर शाह नै हुन् ।

यसले के प्रस्ट पार्छ भने बाटोमा कहिले कसको खुट्टा कहिले कसको । कुनै समय को सफल हुन्छ, कुनै समय को भन्ने निश्चित हुँदैन । यसले दिएको सन्देश र तथ्य यही हो ।

नीर शाह निर्देशित ‘कमला मिस’ले पारिवारिक सम्बन्ध, शिक्षा, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई भावनात्मक रूपमा चित्रण गरेको थियो । यो चलचित्रमा नीर शाहसँगै रमेश बुढाथोकी, बास्ना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी लगायतको अभिनय थियो ।