‘गौँथली’को राम्रो सुरुवात, तीन दिनको कमाइ कति ?

काठमाडौं । चलचित्र ‘गौँथली’को सुरुवाती तीन दिनको अकुपेन्सीले सकारात्मक बाटोतर्फ सिनेमा लागेको संकेत देखाएको छ ।

शुक्रबार औसत देखिएको सिनेमाको बिजनेस शनिबार अपेक्षा गरेभन्दा राम्रो रहेको निर्माण टिमको भनाइ छ । आइतबार पनि चलचित्रले राम्रो व्यवसाय गरेको निर्माण टिमले जनाएको छ ।

वर्ल्डकपको माहोल रहेको र वर्षाको त्रास रहेको समयमा पनि चलचित्रमा दर्शकले सिनेमा हेर्न देखाएको उत्साहले निर्माण टिम अहिले थप हौसिएको छ ।

ट्रेलर र प्रचारप्रसारदेखि नै राम्रो हाइप बनाइरहेको सिनेमाले सुरुवाती दिनमा नै दर्शकको राम्रो साथ पाउनुले ‘गौँथली’ले राम्रो व्यापार गर्ने देखिएको वितरक करण श्रेष्ठ बताउँछन् ।

“बाढी र पहिरोको त्रास छ भनेर सरकारले भनिरहेको छ । महिनौँदेखि मान्छेको निद्रो र डेलि सेड्युल वर्ल्डकपले बिगारेको छ,” करण भन्छन्, “तर, यस्तो प्रतिकूल समयमा पनि यति धेरै साथ पाउनुले ‘गौँथली लामो रेसको घोडा रहेको प्रस्ट भएको छ ।”

शुक्रबारको तुलनामा क्रमशः शो हलहरूले थप्दै गएका छन् । दर्शकको अकुपेन्सी थपिँदै जाँदा शो पनि बढ्दै गएको वितरकको दाबी छ ।

हरेक शोमा सकारात्मक वर्ड अफ माउथको प्रभाव देखिँदै गएको निर्देशक कपिल रिजाल बताउँछन् । “जति पछिका शो छन्, त्यसमा त्यति नै दर्शक बढ्दै गएको पाइएको छ,” उनी भन्छन्, “सिनेमा हेर्ने दर्शकके अरुलाई हेर्न सिफारिस गर्दै गएकाले अपराह्न र साँझका शोहरु भरिँदै जान थालेका छन् ।”

जस्तो सुकै अवस्थामा पनि श्रीमान्–श्रीमतीले एकअर्कालाई साथ दिनुपर्छ, अन्यायका विरुद्ध लड्नु पर्छ, व्यक्तिमा प्यासन र धैर्यता हुनुपर्छ, लक्ष्य प्राप्तिका लागि संघर्ष गर्नुपर्छ र चाहे आफ्नै घरमा र आफ्नैले किन गल्ती नगरुन् त्यसविरुद्ध बोल्नुपर्छ भन्ने सन्देश ‘गौँथली’ले दिएको भन्दै दर्शकले चलचित्रको तारिफ गरिरहेका छन् ।

समाजमा पीडित रहेको महिलाको आवाज सिनेमाले उठान गरेको भन्दै महिलाहरूले चलचित्र मन पराइरहँदा त्यसको समग्रमा सकारात्मक प्रभाव परिरहेको निर्देशक रिजालले बताए ।

आइतबार पनि देशभरका अधिकांश हलमा चलचित्रको अकुपेन्सी उत्साहजनक रहेको निर्माता सुमन गिरीले जानकारी दिए । बिहानका शोमा ७०/८० प्रतिशतसम्म र दिउँसोदेखिका शोमा पनि ६० प्रतिशतमाथि अकुपेन्सी रहेको उनको भनाइ छ ।

चलचित्रले पहिलो तीन दिनमा करिब डेढ करोड रूपैयाँ हाराहारी ग्रस व्यापार गरेको उनले बताए ।

‘हामीले पाएको रिपोर्टअनुसार पहिलो तीन दिनमा करिब डेढ करोडको व्यापार भएको देखिन्छ,” गिरी भन्छन्, “केही हलको रिपोर्ट आउन बाँकी छ, त्यसैले वास्तविक कलेक्सन योभन्दा माथि पनि हुन सक्छ ।”

चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।

घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन् ।