‘चमेलीको पोइ’को प्रतियोगिता घोषणा, चार विजेतालाई एक लाख रुपैयाँ नगद पुरस्कार
काठमाडौं । आगामी असोज १६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘चमेलीको पोइ’को टाइटल गीत ‘ओइ ओइ चमेली, तिम्रा शेरे खोइ…’ सार्वजनिक भएसँगै निर्माण पक्षले टिकटक डान्स तथा कन्टेन्ट क्रियसन प्रतियोगिता घोषणा गरेको छ ।
निर्देशक एभरेष्ट सूर्य बोहरा निर्देशित सिनेमाको निर्माणपक्षका अनुसार टिकटक, फेसबुक, इन्स्टाग्राम रिल्स तथा युट्युब सर्ट्समा ‘ओइ ओइ चमेली..’ गीतमा आधारित भिडियो निर्माण गरी प्रतियोगीतामा भाग लिन सकिनेछ । सहभागीले भिडियो पोस्ट गर्दा चमेलीको पोइ, असोज १६सिकेपी र ओइ ओइ चमेली ह्यासट्याग अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ ।
प्रतियोगितामा उत्कृष्ट चार जना विजेतालाई नगद पुरस्कार प्रदान गरिने छ । जसमा प्रथम पुरस्कार स्वरुप ५० हजार, द्वितीय पुरस्कार ३० हजार, तृतीय स्थान हासिल गर्नेलाई १५ हजार र चौथो पुरस्कार ५ हजार रुपैयाँ रहेको छ ।
विजेता छनोट भिडियोको मौलिकता, प्रस्तुति र सिर्जनात्मकताका आधारमा गरिने निर्माण पक्षले जनाएको छ । सार्वजनीक गीतमा राजनराज शिवाकोटी र इन्दिरा जोशी को स्वर,निर्देशक एभरेष्ट सूर्य बोहरा को शब्द तथा राजनराज शिवाकोटी कै संगीत छ । कबिराज गहतराजको कोरियोग्राफी रहेको गीतमा नारायण त्रिपाठी, सुरक्षा पन्त र विल्सन विक्रम राई फिचर्ड छन् ।
यो चलचित्रबाट करिब डेढ दशकपछि चर्चित हास्य अभिनेता नारायण त्रिपाठी (प्रेमचरो)ले पुनरागमन गरेका छन् ।
चलचित्रमा मुकुन भुसाल, सुरक्षा पन्त, विल्सन विक्रम राई, उमेश राई,रबिन्द्र झा,गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बविन राई, खड्गबहादुर पुन, रजनी गुरुङ, मिना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनीता सापकोटा, विशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा र अनुष्का नारायण लगायतका कलाकारको अभिनय रहेको छ ।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय हुन् भने उदय विक्रम राणा, रितु मल्ल कुँवर, सुमित्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता रहेका छन् ।
नारायण त्रिपाठी, यमप्रसाद ओली, सुदीप कुँवर र प्रदीपकुमार सापकोटा सह-निर्मातामा रहेको चलचित्रको लाइन प्रोड्युसर धनलक्ष्मी श्रेष्ठ बोहरा हुन् ।
शेरबहादुर तामाङले छायांकन गरेको चलचित्रका द्वन्द्व निर्देशन कुमार महर्जन, बन्दे प्रसाद सम्पादक रहेका छन् ।
निर्माताहरूका अनुसार हाल यो चलचित्रको अमेरिकाका विभिन्न सहरहरूमा विशेष प्रदर्शन भइरहेको छ, जहाँबाट निकै सकारात्मक प्रतिक्रियाहरू आइरहेका छन् । नेपालमा यस चलचित्रलाई आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ ।




