‘बा : एक योद्धा’को पोस्टरमा माओत्से र अनिल
काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’को नयाँ पोस्टर सार्वजनिक भएको छ । चलचित्रको प्रचारका क्रममा निर्माणपक्षले आज नयाँ पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पोस्टरमा चलचित्रका दुई कलाकार माओत्से गुरुङ र अनिल बुढाथोकी छन् । उनीहरू ग्यारेजमा उभिएर तस्बिरका लागि पोज दिइरहेका छन् । बनाउँदै गरेको कार अगाडि माओत्से र अनिल छन् । उनीहरूको पहिरन र त्यसमा देखिएको मोबिलको कालोले उनीहरू ग्यारेज सञ्चालन गरेर बसेका मिस्त्री हुन् कि भन्न सकिन्छ ।
बुवाले खोलेको ग्यारेजमै छोराले पनि काम गरिरहेको पोस्टरले संकेत गरेको छ । बुवाको पदचाप पछ्याउने छोराको कथा देखाउन खोजेको संकेतका रूपमा यो पोस्टर आएको हुनसक्ने अनुमान लगाउन सकिन्छ । पोस्टरले माओत्से र अनिल बाउ–छोराको भूमिकामा रहेको संकेत गरेको छ ।
अनिलको यो ‘कर्मा’पछिको दोस्रो चलचित्र हो । चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा रहेको बताइएको छ ।
यो चलचित्रमा अनिल र मओत्सेसँगै झरना थापा, सुहाना थापा, अभिनेता दिव्यदेव पन्त, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो ।
नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर सिनेमामा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।
चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा : एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।


